गरुडा प्रहरी हिरासतमै मृत्यु प्रकरणमा एसपी सहित ६ सुरक्षाकर्मी विरुद्व जाहेरी

पिएनपि खबर

काठमाडौं, २५ साउन : प्रहरी हिरासतमा रहेका बेला बिजय महराको मृत्यु भएको घटनामा पीडित परिवारले रौतहटका तत्कालिन जिल्ला प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध जाहेरी दिएको छ । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजय महराका बाबु पनिलाल महराले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न रौतहटका तत्कालिन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दिएका हुन् ।

पनिलालले इलाका प्रहरी कार्यालय गरुडाका तत्कालिन डीएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीन सिंह, सई वीरेन्द्र यादव, हवल्दार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध जाहेरी दिएका छन् । महतो विजय महराको मृत्यु हुँदा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख थिए । वीरेन्द्र यादव गरुडामै कार्यरत छन् । त्यस्तै प्रहरी निरीक्षक नवीन सिह र हवल्दारद्वय मियाँ र सिंह निरन्जन रामको हत्याको घटनापछि उक्त घटनाको अनुसन्धानका लागि गरुडा आएका थिए ।

 

गाउँकै युवक निरन्जन राम हत्या आरोपमा ३२ साउनमा पक्राउ परेका विजय महराको हिरासतमै रहेका बेला उपचारका क्रममा वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । प्रहरी विरुद्ध रौतहटमा आन्दोलन चर्किएपछि रौतहटका एसपी खड्कालाई फिर्ता बोलाएर अहिले अर्का एसपी सिद्धिबिक्रम शाहलाई पठाइसकेको छ । उक्त जाहेरीलाई जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाईएको छ । 

प्रतिक्रिया