चिनियाँ राष्ट्रपतिद्वारा चीन, हङ्कङ र मकाउ जोड्ने पुलको उद्घाटन

admin

जुहाई, चीन, ६ कात्तिक (रासस÷एएफपी) : चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सवभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गर्नुभएको छ ।
सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ । चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ ।

समुद्रमाथि निर्मित यो पुल ५५ किलोमिटर लामो छ । चीनका राष्ट्रपति चिनफिङले मङ्गलबार सो पुल उद्घाटन गर्नुभएको हो । उक्त उद्घाटन समारोहमा मकाउ र हङ्कङका उच्चस्तरीय नेताहरुको पनि उपस्थिति रहेको बताइएको छ ।
एक वाक्यांशमा उद्घाटन सम्बोधन गर्नुभएका राष्ट्रपति चिनफिङले भन्नुभयो– मैले हङकङ, जुहाई र मकाउ पुल औपरिक रुपमा खुल्ला गरेको छु । उहाँको यो घोषणासँगै उक्त पुल औपचारिक रुपमा खुला भएको छ ।
अर्बौँ डलरको लगानीमा बनाइएको यस पुल सार्वजनिक रुपमा खुल्ला भएपछि हङ्कङ, चीन र मकाउबीचको व्यापारमा बृद्धि हुने तथा यात्रा सहज हुने अनुमान गरिएको छ ।

चीनका उपप्रधानमन्त्री हान जेङले यस पुलको निर्माण विकासको एक भाग भएको बताउनु भएको छ । यस मेगा ब्रिजले हङ्कङ र मकाउ शहरसँग दक्षिणी चीनका नौ ओटा शहरलाई आर्थिक लगायतका सञ्जालसँग जोड्ने जेङले बताउनु भएको छ ।
तर विश्लेषकहरु भन्छन्– यो पुल हङकङलाई चीनमा एकीकृत गर्ने थप एउटा बाटो हो र यसले हङकङको स्वतन्त्रताको अभियानलाई थप खुम्च्याउन सक्छ ।
चीनद्धारा निर्मित हङ्कङ र चीनको मुख्य भूमि जोड्ने यो दोस्रो परियोजना हो । यसअघि गत महिना चीनले हङ्कङलाई जोड्ने दू्रत गतिको रेल निर्माण गरी सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया