चौतर्फी आलोचना सरकारी पदक, यी चार पत्रकारद्वारा पदक नै अस्वीकार

admin

काठमाडौं, ३ असोज : संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने विभूषण, अलङ्कार र पदक विवादमा पर्न थालेका छन् । एक पटक पनि नसोधिकनै विभूषण पाउनेको सूचीमा आफ्नो नाम राखेको भन्दै पत्रकारले पदक अस्वीकार गरेका छन् ।

पत्रकार कृष्णज्वाला देवकोटा, हरिबहादुर थापा, नारायण अमृत र कार्टुनिस्ट रविन सायमीले पदक नलिने घोषणा गरेका हुन् । उनीहरूले पदकको वितरण न्यायपूर्ण, विवेकपूर्ण र पारदर्शी हुनुपर्ने बताएका छन् । देश र समाजको सकारात्मक परिवर्तनमा भूमिका खेल्नेहरूलाई इज्जत र प्रतिष्ठाका साथ दिइने मान पदवी अहिले पञ्चायती शैलीमा वितरण गर्न लागिएको भन्दै उनीहरूले आलोचना गरेका छन् ।

योग्यताको मूल्याङकनन नगरि राजनीतिक दलसँग सम्बन्धित रहेकै आधारमा पदक दिएको भन्दै चौतर्फी आलोचना भएको हो । यस पटक नौ सय तीन जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक घोषणा भएको छ । सरकारले सबैभन्दा माथिल्लो विभूषण नेपाल रत्न स्वर्गीय कृष्णप्रसाद भट्टराई (मरणोपरान्त) लाई, दोस्रो ठूलो विभूषण राष्ट्र गौरव मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सुवर्णशम्शेर (मरणोपरान्त) लाई र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिने भएको छ ।

यस पटक विभिन्न दल निकटका व्यक्ति र संस्थादेखि पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका बुबा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालसम्मलाई पदक तथा विभूषणको घोषणा भएको छ ।

प्रतिक्रिया