जलाउन घाटमा लगेको शव प्रहरी नियन्त्रणमा

admin

सुनसरी , माघ २: विराटनगरमा बिहबार घाटमा जलाउन लगेकाे शव प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटना शंकास्पद रहेको जानकारी आएपछि पोष्टमार्टमको लागि शवलाई नियन्त्रणमा लिइएको मोरङमा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । घाँटीमा शंकास्पद डाम देखिएपछि साहको शव नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्ताे थियाे घटना
विराटनगर महानगरपालिका-८, बलुवाइकी २८ वर्षीया प्रेमदेवी साहको बिहीबार बिहान ४ बजे ज्यान गयो । मध्यान्ह घरका परिवार र छरछिमेक भेला भए र उनको शव दाहसंस्कारका लागि नजिकै रहेको सिँघिया खोलामा लगे ।

साहको परिवारले प्रेमदेवीको सुनसरीको बराह नगरपालिका ४ चतरामा रहेका माइती पक्षलाई बिहान साढे ५ बजेतिर खबर गरे । प्रेमदेवीको मृत्युको खबर पुगे लगत्तै त्यहाँबाट मृतककी दिदी श्यामकुमारी साह सहितका आफन्त विराटनगर आए ।

मृतक प्रेमदेवीको घटना शंकास्पद लागेर उनीहरुले प्रहरीलाई खबर गरे । बहिनीको कालगतीले ज्यान नगई हत्या भएको हुनसक्ने श्यामकुमारीको आरोप छ ।प्रेमदेवीको माईती पक्षले उनको मृत्यु शंकास्पद देखिएको भन्दै शव जलाउन दिएनन् ।

शव जलाउनको लागि चिता समेत बनाइसकेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक रामबहादुर ढकाल र वडा प्रहरी कार्यालय हाटखोलाबाट प्रहरी नायब निरीक्षक मनोज अधिकारी सहितको टोली सिँघिया खोलामै पुग्यो । त्यहाँ पुगेको प्रहरी टोलीले विराटनगर ८ बलुवाई भाथिगछ जाने पुल नजिकै रहेको सिँघीया खोलको घाटबाट जलाउन लागेको साहको शवको मुचुल्का बनाई नियन्त्रणमा लियाे ।

तर स्थानीयले मृतक साह मानसिक बिरामी भएका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान लगाएका छन् । प्रहरीले साहको शव नियन्त्रणमा लिएपछि मलामी गएका गाउँले अचम्म मान्दै घर फर्किए । प्रहरीले प्रेमदेवीका श्रीमान् गोविन्द साहलाई पनि नियन्त्रणमा लिएको छ । गोविन्दसँग उनको १२ वर्ष अघि मागी विवाह भएको थियो ।

उनीहरुका दुई छोरा छन् । साहको शवलाई पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पतालमा राखिएको छ । पोष्ट मार्टमको रिर्पोट आएपछि मात्र घटनाको बारे यथार्थ पत्ता लाग्ने मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया