जसपा विवाद निर्वाचन आयोग, कसैको पक्ष र विपक्षमा उभिन नैतिकताले दिएन : रेशम चौधरी

admin

काठमाडौं, ११ साउन : जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता विवादमा उपेन्द्र यादवसँग ३४ र महन्थ ठाकुरको पक्षमा १६ कार्यकारिणी समितिले सनाखत गरेका छन् । निर्वाचन आयोगले सोमबार हेड काउन्टका लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो ।

जसमा बहुमति सदस्यले यादवको साथ दिएका हुन् । यस्तै निलम्बित सांसद् समेत रहेका कार्यकारिणी सदस्य रेशम चौधरीले तटस्थ बसेका थिए । सनाखतका लागि जसपाका सवै कार्यकारिणी सदस्यहरु आयोग पुगेका थिए । आयोगमा सनाखतपछि जसपा अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष महन्थ ठाकुरले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिइने बताए ।

उनले आधिकारीक पार्टी नै आफुहरु रहेको बताए । प्रतिगमनलाई साथ दिएर पार्टीका केहि नेताहरुले पार्टीलाई नै धोका दिएको उनको भनाई छ । त्यस्तै जसपा नेता राजकिशोर यादवले पार्टीलाई एकतावद्ध बनाउने आफुहरुको प्रयास रहेको बताए । यादव पक्षलाई साथ दिएका यादवले पार्टीलाई जोगाउनुपर्ने जिकिर गरे ।

यस्तै जसपा नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाउने काम गरेको आरोप लगाए । प्राविधिक विभाजनबाट आफुलाई कुनै असर नगर्ने उनले बताए । आफूहरुका लागि केपी ओली र शेरबहादुर देउवा दुवै बराबर रहेको उनको भनाई छ । समाजवादी पार्टी फुट्ने बेलामा पार्टी एकता गरेर उपेन्द्र यादवलाई मद्दत गरेको महत्तोले बताए । आयोगको निर्णयपछि आफूहरुले आगामी कदम चाल्ने महतोले बताए ।

जसपा आधिकारिता विवादमा केन्द्रीय कार्यकारिणी सदस्य एवं निलम्बित सांसद रेशम चौधरी तटस्थ बस्दै आफू पार्टीको बफादार सिपाही भएकाले कसैको पक्ष र विपक्षमा उभिन आफूलाई नियत र नैतिकताले नदिएको उनले बताए । जेलबाट निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न नियत र नैतिकताले नदिएको उनको भनाई छ ।

उनले कुनै एक पक्षले बाजी मार्ला र कोहीले हारेपनि जिन्दगीभर कमाएको निष्ठाको लागि महन्थ ठाकुरप्रति भीष्म पितामहको दर्जा कायम गरिदिन पनि आग्रह गरे । जनता समाजवादी पार्टीका निलम्बित सांसद चौधरीलाई सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोगको कार्यालयमा झिकाइएको थियो ।

प्रतिक्रिया