जीप दुर्घटनामा दुईको मृत्यु

राष्ट्रिय समाचार समिति

म्याग्दी, १५ कात्तिक : म्याग्दीको मालिका गाउँपालिका–२ रुममा आज दिउँसो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मालिका–२ का २२ वर्षीय सपबहादुर श्रीपाली र ४० वर्षीय चन्द्रबहादुर पुन रहेको प्रहरीले जनाएको छ । दरवाङ बजारदेखि रुम जाँदै गरेको ध १ ज ५९८ नं को जीप दरवाङ–रुम सडकको ताक्सेमा पल्टिएर दुर्घटना भएको थियो ।

फाइल फोटो

जीप पल्टिँदा भिरमा खसेका श्रीपाली र पुन मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताउनुभयो । रुखमा अड्किएको अवस्थामा उद्धार गरिएका एक जनाको अवस्था सामान्य छ । मालिका–१ का जीपका चालक ३३ वर्षीय डम्मरबहादुर सिउथानीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जीपभित्र बसेका १५ जना यात्रु भने सकुशल छन् । जीप पल्टिँदा भिरमा खसेका यात्रु छतमा चढेको हुनसक्ने प्रहरीको अनुमान छ । उकालो बाटोमा जीप ब्याक भएर सडकमै पल्टिएको यात्रुहरुले बताएका छन् । दरवाङबाट गएको प्रहरी टोली, रेडक्रसकर्मी, जनप्रतिनिधि र स्थानीयवासीले भिरको फेदीमा रहेको शव निकालेर सडकमा ल्याएका थिए ।

प्रतिक्रिया