जीवित देवी पनि एकान्तवासमा

admin

काठमाडौं: चैत २१ : उपत्यकाका जीवितदेवीका रूपमा पूज्य काठमाडौँ वसन्तपुरकी कुमारी, पाटनकी गणकुमारी र भक्तपुरकी एकान्त कुमारी पनि स्व–एकान्तवास (सेल्फ क्वारेन्टाइन) मा छन्।। चैते दशैँका दिन तलेजु पूजाका लागि वसन्तपुरकी कुमारीलाई कुमारीघरबाट एकाध मिनेट नजिक तलेजुमा लगिएको भए पनि उहाँ घोडेजात्राका दिनदेखि एकान्तवासमा छन्।

कुमारीका सहयोगी गौतमरत्न शाक्यका अनुसार जस्तै परिस्थितिमा पनि कुमारीसँग भक्तजनको भेट गराइएको छैन। पाटनकी गणकुमारी र भक्तपुरकी एकान्त कुमारी पनि भक्तजनको सम्पर्कमा नरहेर स्वएकान्तवासमा छन्।

भक्तपुर महाकाली नाचका महाकालीलगायतका देवता पनि घरमै सुरक्षित प्रकारले रहेका छन्। हरिसिद्धिका देवगण, भक्तपुरको नवदुर्गाका देवगण पनि सरकारको आग्रह अनुसार सार्वजनिक स्थलमा नरहेर घरमै रहेका छन्।

चैते दशैँ लगायत वैशाखको सुरु दिन हुने बिस्केट जात्राभरि नै यी देवी देवता सार्वजनिक रूपमा भक्तजनका सामु रहनुपर्छ। साँखुमा यही बेला बज्रयोगिनी जात्रा रोकिएपछि यहाँकी स्थानीय जीवित देवी कुमारी दर्शन पनि रोकिएको छ।

प्रतिक्रिया