थप एक हजार दुई सय ३९ संक्रमित थपिएसँगै १३ जनाको ज्यान गयो

admin

काठमाडौं, ७ असोज : बिहीबार एक हजार दुई सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार दुई सय ४३ नमुना परीक्षण गर्दा आठ दशमलव १२ अर्थात् एक हजार दुई सय ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार थपिएकासँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ७८ हजार सात सय ७६ पुगेको छ । यस्तै थप एक हजार तीन सय २४ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या सात लाख ५६ हजार नौ सय ५४ पुगेको छ । यही अवधिमा थप १३ जना संक्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७२ पुगेको छ ।

अहिले नेपालमा २० हजार सात सय ४३ जना सक्रिय संक्रमित रहेकामा तीन सय ४० जनाको आईसीयू र एक सय ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै बितेको २४ घण्टामा थप एक लाख ३८ हजार तीन सय ८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५८ लाख ६० हजार नौ सय जनाले पूर्ण मात्रा र ६२ लाख ९३ हजार जनाले पहिलो मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया