थप छ सय ७९ जनामा संक्रमण पुष्टि भएसँगै सात जनाको ज्यान गयो

admin

काठमाडौं, १७ असोज : आइतबार छ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार नौ सय २० जनाको नमुना परीक्षण गर्दा ६ सय ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव २१ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । आइतबार थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९७ हजार एक सय ९२ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९२ हजार ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बितेको २४ घण्टामा एक हजार चार सय पाँच जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख ६९ हजार दुई सय २४ जना पुगेको छ । यही अवधिमा थप सात जनासहित संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार एक सय ६४ पुगेको छ ।

अहिले नेपालमा १६ हजार आठ सय चार जना सक्रिय संक्रमित रहेकामा तीन सय ३७ जनाको आईसीयू र एक सय चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैबीच बितेको २४ घण्टामा २६ हजार चार सय १९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या ६३ लाख ५२ हजार तीन सय २२ र एक मात्रा खोप लगाउनेको संख्या ७७ लाख १६ हजार नौ सय ८५ पुगेको छ ।

प्रतिक्रिया