थप १२ जनाले ज्यान गुमाए, कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ करोड ३१ लाख नाघ्यो

admin

काठमाडौं, १२ असोज : मंगलबार देशभर एक हजार एक सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार तीन जनाको नमुना परीक्षण गर्दा एक हजार एक सय ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९३ हजार दुई सय ७१ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि हुनेको संख्या ९१ हजार एक सय आठ पुगेको छ । बितेको २४ घण्टामा एक हजार तीन सय १८ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख ६३ हजार सात सय ३४ पुगेको छ ।

यही अवधिमा थप १२ जनासहित कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार एक सय १५ जना पुगेको छ । अहिले १८ हजार चार सय २२ जना सक्रिय संक्रमित रहेकामा तीन सय ६४ जनाको आईसीयू र एक सय २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैबीच नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या एक करोड ३१ लाख नाघेको छ ।

बितेको २४ घण्टामा दुई लाख आठ हजार ९० मात्रा खोप लगाएसँगै खोप लगाउनेको संख्या एक करोड ३१ लाख ६६ हजार पाँच सय ९८ जना पुगेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाउनेमध्ये ६२ लाख पाँच हजार सात सय ७० जनाले पूर्ण मात्रा र ६९ लाख ६० हजार आठ सय २८ जनाले एक मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया