दरबार हाइ-स्कुलमा विद्यार्थीका लागि सिट क्षमता बढाइयो

राष्ट्रिय समाचार समिति

काठमाडौं, १६ माघ : विद्यार्थी भर्ना संख्या बढेपछि रानीपोखरीको ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को कक्षाकोठामा सिट क्षमता बढाइएको छ । नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले ५, ६, ७ र ८ कक्षामा विद्यार्थी बस्नका लागि सिट क्षमता बढाएको हो ।

पुनर्निर्माणपछि यस विद्यालयमा प्रतिकक्षा ३६ विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो । हरेक दिन विद्यार्थी आउने क्रम जारी रहेपछि प्रत्येक कक्षामा फेरि ६ विद्यार्थी राख्न सक्ने गरी क्षमता विस्तार गरिएको हो । क्षमता विस्तारपछि अहिले प्रत्येक कक्षामा ४२ जनासम्म विद्यार्थीलाई पठनपाठन गराउन सकिन्छ ।

नेपालको शैक्षिक इतिहासमा महत्त्व राख्ने यो विद्यालयको भवन विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि आकर्षक ढङ्गले पुनर्निर्माण गरिएसँगै नयाँ विद्यार्थी आउने क्रम बढेको हो । अहिले भानु माविको कक्षा ५, ६, ७ र ८ मा विद्यार्थी कोटा संख्या पुगेको छ । काठमाडौं महानगरपालिका २७ का वडा सदस्य परिवेशमान बज्राचार्यका अनुसार अब नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि यी कक्षामा ठाउँ नै छैन ।

भवन निर्माण सम्पन्न भएसँगै भानु माध्यमिक विद्यालयमा अहिले तीन सय १२ विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ८० मात्र विद्यार्थी रहेका थिए । ‘अहिले हरेक दिन नयाँ भर्नाका लागि अभिभावकसहित विद्यार्थी आउने गरेका छन् । यसरी नै आकर्षण बढ्ने हो भने आउँदो शैक्षिक सत्रसम्ममा सबै कक्षा भरिनेछन्’, उनले भने ।

भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरि निर्माण भए पनि यसको स्वरुप पहिलाकै जस्तो देखिन्छ । नौ रोपनी जग्गामा निर्माण गरिएको विद्यालय भवन चार तले छ । यसमा ६० कक्षाकोठा छन् । नेपाल सरकारले उपत्यकाका महत्त्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको यस ऐतिहासिक विद्यालय भवनको हाताभित्र अहिले भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् ।

नयाँ भवनमा प्रयोशालासमेतको सुविधा र अंग्रेजी माध्यममा पढाइ हुने गरेको छ । सुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । लामो समयसम्म काठमाण्डौ महानगरपालिका र पुरातत्व विभागबीच नक्सा पासका विषयमा केही मतान्तर भएकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनर्निर्माणको काम सुरु भएको थियो ।

भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेना गृह, दुई पुस्तकालय र ठूलो बैठक कक्षसमेत व्यवस्थितरूपले निर्माण गरिएका छन् । ८५ करोड ५९ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको दरबार हाइस्कुलको कक्षा कोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ ।

गएको कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणसँगै यस विद्यालय भवनको उद्घाटन गरेपछि दरबार हाइस्कुल फेरि सञ्चालनमा आएको हो । तर कोरोना महामारीका कारण अहिलेसम्म भौतिकरूपमा पठनपाठन भने हुन सकेको छैन । नेपालको शैक्षिक क्षेत्रको ऐतिहासिक धरोहर दरबार हाइस्कुल भवन भूकम्पका कारण भत्किएपछि प्रदर्शनीमार्गको वाल्मीकि विद्यापीठ नजिकैको परिसरमा अस्थायी टहरा निर्माण गरि सञ्चालन गरिएको थियो ।

तत्कालीन राणा सरकारले विसं १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलिएकाले यसको नाम दरबार हाइस्कुल रहन गएको हो । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि विसं १९१० असोज २७ मा नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाइस्कुल’ स्थापना गरेका थिए । राजा-माहाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरि स्थापना गरिएको यो हाइस्कुलमा अंग्रेजी पढाउन बेलायतबाटै शिक्षक ल्याइएको इतिहासमा उल्लेख छ ।

विसं १९३३ मा रणोद्दीप सिंह प्रधानमन्त्री भएपछि राणाका सेवामा खटिएका कर्मचारीका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था भएको थियो । विसं १९४२ मा रणोद्दीप सिंहको हत्यापछि वीरशम्शेरले विद्यालयलाई जमलको सेतो दरबारको ढोका नजिक सारेका थिए । विसं १९५७ मा देवशम्शेर प्रधानमन्त्री भएपछि दरबार स्कुलमा सर्वसाधारण नागरिकले पढ्न पाउने व्यवस्था भएको थियो ।

प्रतिक्रिया