दाइजो नदिएको निहुँमा नवदुलहीमाथि कुटपिट, ससुरा पक्राउ, श्रीमानको खोजी हुँदै

admin

महोत्तरी, २८ जेठ : महोत्तरीमा नवदुलहीमाथि कुटपिट भएको छ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर लगायत सामग्री नदिएको भन्दै नवदुलहीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । गएको बैशाख १३ गते सर्लाही हरिपुर्वा नगरपालिकाका जोगनारायण साहसँग उनको विवाह भएको थियो ।

विवाह गरेको चार पाँच दिनपछि उनी माइत गएकी उनी त्यसको केही दिनमा नै घर फर्किएकी थिइन् । घर फर्किएपछि आफूमाथि झन् धेरै दुर्व्यवहार भएको दुलहीले बताएकी छिन् । कुटपिटबाट घाइते भएकी उनलाई माइती पक्षले उपचार गराएको छ ।

विवाह भएको चार दिनमै दाइजो नदिएको भन्दै श्रीमानसहित परिवारका सदस्यले उनलाई कुटपिट गर्न थालेका थिए । सर्लाहीको जिल्ला अस्पतालमा उपचारपछि अहिले स्वास्थ्य अवस्था सामान्य रहेको दुलहीकी माइती पक्षले बताएका छन् ।

माइती पक्षले सर्लाहीको शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौडका अनुसार कुटपिटमा संग्लन ससुरालाई पक्राउ गरिएको छ ।

अन्य सदस्य भने भागेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । उनको विवाहमा नगद तीन लाख पचहत्तर हजार रुपैयाँ, दुई तोला सुन, १२ तोला चाँदी, फर्निचर र लत्ताकपडा गरी १२ लाख रुपैयाँभन्दा धेरै दाइजो दिइएको थियो । तर, कम भएको भन्दै घरका सदस्यले कुटपिट गर्ने गरेका पीडितले बताएकी छिन् ।

प्रतिक्रिया