दुईतिर फर्किएका ओली र प्रचण्डलाई एकै ठाउँमा फर्काउने तागत मसँग छ : गौतम

admin

काठमाडौं, १४ माघ : नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एकै ठाउँमा फर्काउने उद्घोष गरेका छन् । बुधबार नेकपा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै उपाध्यक्ष गौतमले पार्टी विभाजनपछि दुईतिर फर्किएका ओली र दाहाललाई एकैतिर फर्काइदिने बताएका हुन् ।

गौतमले दुवैलाई मिलाउन अधिकतम प्रयास गर्ने बताउँदै उनले भने, ‘अहिले उहाँहरु दुईतिर फर्कनुभएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन्छु । केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्थेन । प्रचण्डजी म नहुँदा हो नभए जहिल्यै एकताको पक्षमा हो । म एकातिर जान्छु र केपीलाई प्रचण्डतिर फर्काइदिन्छु र प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो तागत मसँग छ ।’

यस्तै पुरानो मतको हिसाब निकाल्दै नेकपाको फुटले कांग्रेसलाई फाइदा हुने उनले बताए । पार्टी फुटेकामा नेपाली कांग्रेसलगायतका अन्य दलहरु पनि खुशी नभएको गौतमले बताए । नेता गौतमले आफूहरुले नयाँ पार्टी बनाउन नलागेको बताए । तर आफ्नो अभियानमा धेरैले साथ दिने उनले जिकिर गरे । ‘६ महिनामा काठमाडौंमा बस्न नसक्ने गरी जनता जुटाउन सक्छु, त्यो शक्ति निर्माण हुँदैछ’ उनले भने ।

उनले भने- ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान ?’ संसद विघटनले नेपालको संस्कृति नै ध्वस्त भएको उनले बताए । ‘जहाँ हामी जान खोजेको सभ्यता थियो, त्योबाट हामी धेरै तल झर्‍यौं’ गौतमले भने ।

अघिल्लो निर्वाचनमा दुई ठूला कम्युनिस्ट पार्टी मिलेर निर्वाचनमा जाँदा ठूलो लहर आएको उल्लेख गर्दै गौतमले त्यतिबेला दुई पार्टीले ४३ लाख मत मात्रै आएको उल्लेख गरे । उक्त निर्वाचनमा काँग्रेसले ३० लाख मत पाएको थियो । गौतमको अनुमानमा तीन वर्षमा करिब ७ लाख मतदाता बढेका हुन सक्छन् र ती मतदाता विभाजित हुँदा काँग्रेसको मत बढ्ने र नेकपा विभाजित हुँदा झन् घट्नेछ ।

गौतमले भने, ‘यो तथ्यले बताउँछ कि हामी हार्छौं र बीचबाट उठेको काँग्रेस सरकारमा पुग्ने पक्का छ । तर, नेताहरू फुटाएर बहुमत ल्याउँछौँ भनिरहनुभएको छ ।’ गौतमले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको इज्जत बढ्ने बताएका छन् ।

यस्तै आफ्नो अभियानमा प्रचण्ड र ओलीले ‘म जान्नँ’ भन्न नसक्ने अवस्था नहुने उनले बताए । यदि पार्टी एकिकरणबाट विमुख भए ओली र दाहाल सैनिक बिनाको सेनापतिजस्तो हुने पनि गौतमले बताए । यदि बैशाख १७ र २७ गते चुनाव भइहालेमा आफूलाई मन पर्ने व्यक्तिलाई भोट हाल्न पनि गौतमले नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

गौतमले दाहाल र केपी ओलीतिर भएका कार्यकर्ता एकता अभियानतिर ल्याएपछि पार्टी एकता भएरै छाड्ने जिकिर गरे । ‘पार्टी एकता हुँदै भएन भने के गर्ने ? भन्ने पनि साथीहरुको जिज्ञासा छ’ उनले भने, ‘‘हुँदै भएन भने तयतिबेला हाम्रो केन्द्रीय कमिटी बसेर निर्णय गरौंला ।’

प्रतिक्रिया