नयाँ पेट्रोलपम्पको लाइसेन्स खुल्दै

शर्मिला गुरुङ

काठमाडौँ, १८ वैशाख : आयल निगमले पेट्रोल र डिजेल बिक्री गर्ने नयाँ पम्पको लाइसेन्स खुला गर्ने भएको छ । पेट्रोलपम्प सञ्चालनसम्बन्धी विक्रेता विनियमावली संशोधन गरेर कर्णाली प्रदेश र नयाँ खुलेका राजमार्गलाई लक्षित गरी पम्प सञ्चालनको लाइसेन्स दिन लागिएको हो । हाल देशभर १ हजार ४ सय ८० पम्प सञ्चालनमा छन् ।

निगमले पम्प लाइसेन्स वितरणलाई सहज पार्ने गरी विनियमावली संशोधन गरेको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतले तोकिएको मापदण्ड पूरा गरेर पम्प सञ्चालन गर्न खोज्ने सबैलाई लाइसेन्स दिन लागेको बताए । ‘१–२ दिनमै नयाँ पम्पको लाइसेन्सका लागि आवेदन खुलाउँदै छौँ,’ उनले भने ।

पुरानो विनियमावलीमा देखिएको केही विकृत प्रावधान सुधार गरेर नयाँ ल्याइएको निगमले जनाएको छ । निगममा नयाँ नेतृत्व आएपछि पम्पको लाइसेन्स खुला गरेर मोटो रकम असुल्ने विकृति थियो । अब भने त्यसको अन्त्य हुने निगमको दाबी छ ।

निगममा नयाँ कार्यकारी निर्देशक सुरेन्द्र पौडेल आएपछि भने विनियमाली संशोधन गरेर लाइसेन्स वितरणमा दिगो विधि विकास गरिएको प्रवक्ता गोइतले जानकारी दिए । उनका अनुसार अबदेखि ३–३ वर्षमा लाइसेन्स खुला हुनेछ । ‘अब लाइसेन्स खुलाउने विषय व्यक्तिका रुचिमा निर्भर हुँदैन,’ विनियमावली संशोधनका संयोजकसमेत रहेका गोइतले भने, ‘३–३ वर्षमा नयाँ लाइसेन्स खुलाउने विधिले पारदर्शिता बढ्नेछ ।’

देशभर इन्धन उपलब्ध गराउने वितरण विभागका प्रमुख रहेका गोइतले नागरिकको समस्या बुझेर विनियमावलीमा धेरै सुधार गरिएको दाबी गरे । मुलुकभर पेट्रोलियम पदार्थको खपत बढ्दो छ । त्यसकारण पनि पम्प संख्या थप्नुपर्ने बाध्यता छ । हाल दैनिक १५ लाख लिटर पेट्रोल र ४८ लाख लिटर डिजेल खपत हुँदै आएको पेट्रोलियम व्यवसायीको तथ्यांक छ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया