निर्मला पन्तको हत्यारा कहिले सार्वजनिक हुन्छ सरकार ?

शर्मिला गुरुङ

काठमाडौँ, साउन १० : कन्चनपुर भीमदत्त नगरपालिका-२ उल्टाखामकि निर्मला पन्तकाे बलात्कारपछि हत्या भएको आज बर्ष दिन भएको छ । ०७५ साउन १० गते बलात्कारपछि हत्याको शिकार भएकी ९ कक्षामा पढ्ने बालिका निर्मलाको हत्या प्रकरण सुरुवाती चरण देखि अहिलेसम्म रहस्यमय नै छ। अहिलेसम्म हत्यारा पत्ता लगाउन सरकारले गरेको १ बर्षको प्रयासले समेत निर्मला प्रकरणको गुत्थी सुल्झिन सकेको छैन।

निर्मला प्रकरणमा सरकारी र मानवअधिकारवादी संस्थाले विभिन्न प्रतिबेदन निकाले। निर्मला प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदनहरु तयार भए । गृह मन्त्रालयद्वारा गठित मैनाली समितिको प्रतिवेदन मन्त्रालयमा नै अलपत्र छ। तर अहिलेसम्मका कुनै पनि प्रतिवेदनले अभियुक्तको किटानी गर्न सकेका छैनन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या जस्तो जघन्य अपराध भएपछि उनको न्यायको लागि देशव्यापी आन्दोलन भयो। प्रहरीले सो हत्याका मुख्य अभियुक्त भन्दै दिलीप बिष्टलाई पक्राउ गरेपछि स्थानीयले ०७५ साल ५ देखि ८ भदौसम्म आन्दोलन चर्काएका थिए । आन्दोलनका क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका सन्नी खुनाले ज्यान नै गुमाउनुपर्‍यो । आन्दोलनमा गोली लागेर घाइते भएका २० वर्षीय युवा अर्जुन भण्डारा अहिलेसम्म पनि उपचाररत नै छन । गोली लागेका उनले खुट्टा नै गुमाउनुपरेको छ । अन्य केही घाइते भए तर घाइते भएकाहरु अझै निको भएका छैनन। सरकारले वास्ता गरेन भनि पीडित परिवारले अहिलेसम्म भनिरहेका छ्न।

यसै बीचमा छोरीलाई कि न्याय दे कि फाँसी दे भन्दै धर्ना बसेका निर्मलाका बाबुले मनसिक सन्तुलन गुमाउनुपर्यो। निर्मलाको आमालाई केहि राहत रकम र नगरपालिकामा जागिर त दियो सरकारले तर न्यायको भोको बनेकी दुर्गादेवी दिनदिनै पिल्सिएर बस्नु परेको छ। हत्यारा भनेर सार्वजनिक पनि गरिएका दिलिपसिंह बिष्टलाई अहिले फेरि अनुसन्धान गर्ने तयारीमा प्रहरी रहेको छ । एक वर्षसम्म पनि दर्जनौं अनुसन्धान टोलीले अनुसन्धान गर्दा र ७३ जनाको डिएनए परिक्षण गर्दा समेत नयाँ केही नआएपछि प्रहरी अधिकारीहरू नै अनौपचारिक रुपमा दिलिपसिंह बिष्ट नै निर्मलाको हत्यारा हो भनिरहेका छन। हाल निलम्बित डिएसपी अंगुर जिसी उनकै अनुसन्धान सफल भएको बताउँछन्। अंगुर जिसीले एक टेलिभिजन अन्तर्वार्तामा हत्यारा आफूले सार्वजनिक गरेको व्यक्ति नै भएको ठहर गरेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओली १२ बर्षमा निर्मलाको हत्यारा पत्ता लाग्छ भन्छ्न । गृहमन्त्री थापा हिजो, आज, भोलि यस्तै घटना हुन्छ भन्छ्न। अनि सरकार कहिले जिम्मेवार बन्ने? दण्डहिन्ता कहिले अन्त्य हुने? दण्डहीनताको अपेक्षा कहिले पूरा होला? निर्मलाको न्यायको लागि सरकारले अबको दिनमा कुनै पनि गल्ति नदोहोर्याइकन नयाँ शिराबाट हत्यारा पत्ता लगाई जनतालाई कानुनी राज्यको अनुभूति दिलाउनुपर्छ ।

प्रतिक्रिया