कुलमानको पक्षमा बोल्दा सामाजिक अभियन्ता बब्लु गुप्ता माथि प्रहरीको लाठी, बुट र लछारपछार

पिएनपि खबर

काठमाडौं, असोज १: नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा निस्किएका युवालाई प्रहरीले निर्घात पिटेको छ।

बिहीबार दिउँसो ‘हनरेड (१००) ग्रुप’का अध्यक्षलाई प्रहरीले बबरमहल अगाडि प्रहरीले लाठी, मुक्का र बुट प्रहार गरेको हो।

सो ग्रुपका अध्यक्ष बब्लु गुप्तालाई प्रहरीले पटक पटक झम्टदै कुटपिट गर्यो।

प्रदर्शन गर्न भनी आइरहेका ग्रुपका युवाहरूलाई प्रहरीले सम्झाइबुझाइ नगरी सिधैं कुटपिट गरेको गुप्ताले बताए।

उनीहरू कुलमानलाई प्राधिकरणमा पुन: नियुक्ति माग्दै धर्ना बस्न र प्रदर्शन गर्न माइतीघर गइरहेका थिए।

उनीहरू ७०/८० जनाको संख्यामा मोटरसाइकलमा थिए।

दिउँसो तीन बजेतिर प्रदर्शनमा जाने क्रममा प्रहरीले बीच बाटोमा भ्यान ल्याएर रोक्यो।  

अध्यक्ष गुप्ताका अनुसार किन रोकियो भन्ने प्रश्न गरेपछि प्रहरीले ‘माथिको आदेश छ’ भन्दै मोटरसाइकलबाट ओराल्न थाल्यो।

‘हामीले ब्यानर देखायौं, प्रहरीले ब्यानर निकाल्न पाइँदैन भन्दै लछारपछार गर्यो, लखेटी-लखेटी कुटपिट गर्‍यो,’ उनले भने।

भिडिओमा पनि गुप्तालाई प्रहरीले लछारपछार पार्दै लाठी, मुक्का र बुट प्रहार गरेको देखिएको छ।

भेनमा आएको प्रहरीको नेतृत्व प्रहरी निरीक्षकले गरेका थिए। उनले प्रहरीहरूलाई ‘पिट्न’ आदेश दिएको गुप्ताले बताए।

‘मास्क लगाएर हामी सामाजिक दूरी कायम गरेरै कार्यक्रम गर्न चाहन्थ्यौं, तर प्रहरीले साथीहरू सबैलाई कुटेर खेदायो,’ उनले भने, ‘कसैलाई त मोटरसाइकलमै लाठीले हिर्कायो।’

प्रहरीको कुटाइ खाएका गुप्ताले आफ्नो हात-खुट्टाका विभिन्न ठाउँमा नीलडाम रहेको बताए।

गुप्ताका अनुसार बुधबार पनि युवाहरू प्रदर्शनमा जान खोजेका थिए। तर, प्रहरीले अवरोध गरेको थियो।

कोरोना भाइरसको महामारीका कारण अहिले सार्वजनिक ठाउँमा सभा-जुलुश गर्न नपाउने नियम स्थानीय प्रशासनले लगाएको छ। काठमाडौं उपत्यकामा लामो समय निषेधाज्ञा जारी गरेको प्रशासनले निषेधाज्ञा खुकुलो पारे पनि सभा-जुलुश गर्न रोक लगाएको छ।

शान्तिपूर्ण बिरोध गर्न जाँदा कुटपिटमै ओर्लिन भने प्रहरीलाई अधिकार नरहेको गुप्ताले बताए। उनले सार्वजनिक ठाउँमा सभा-जुलुश गर्न नपाइने थाहा हुँदाहुँदै पनि आफूहरू आएको बताए।

‘निषेधाज्ञाकै बीचमा पनि सरकारको समर्थनमा कति प्रदर्शन भए, आफ्नो पक्षमा गर्नेलाई छुट दिने, अनि बिरोध गर्नेलाई चाहिँ रोक्ने?,’ गुप्ताले प्रश्न गरे।

 

केही समयअघि नेकपाभित्र आन्तरिक द्वन्द्व चर्कंदा प्रधानमन्त्रीका पक्षमा माइतीघरलगायत देशभर कैयन ठाँउमा उनी निकट कार्यकर्ता र युवाहरुले प्रर्दशन गरेका थिए। कुनै पनि त्यस्ता प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थिएन।

महानगरीय प्रहरी परिसर काठमाडौंले भीड नियन्त्रण गर्न टोली गएको बतायो। ‘भीड तितरवितर पार्ने क्रममा सामान्य बल प्रयोग भएको होला, कुटपिट भएको भन्ने रिपोर्ट आएको छैन,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले भने।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले पनि प्रहरीले कुटपिट गरेको भन्ने जानकारी आफूकहाँ आइनसकेको बताए। ‘मलाई त्यस्तो रिपोर्ट छैन,’ उनले भने।

यो ग्रुपले सामाजिक काम गर्ने गरेको गुप्ताले बताए। प्राधिकरणमा राम्रो काम गरेका कुलमानलाई सरकारले अन्याय गरेकाले त्यसको बिरोधमा र उनको पुन:नियुक्तिको माग गर्दै आफूहरु शान्तीपुर्ण प्रदर्शनमा उत्रिएको उनले बताए।  

कुलमान घिसिङ प्राधिकरणको प्रवन्ध निर्देशकको चार वर्षे कार्यकाल सकेर भदौ २९ गते विदा भएका थिए। लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण उनको पुन:नियुक्ति माग जनस्तरमै भइरहेको छ।

को हुन् बब्लु गुप्ता नेपाली ?
धेरैका लागी बब्लु गुप्ता नेपाली अपरिचित भएपनि उनि ह्रन्डे«स गु्रप मार्फत देशभर कपडा बैंक स्थापना गरेर हजारौंलाई लुगाउन पाउने बातावरण सिर्जना गर्ने प्रमुख अभियन्ता हुन् । उनले कोरोनाका कारण नेपालमा लकडाउन भएपश्चात विगत ६ महिनादेखी रत्नपार्कमा हजारौंलाई खाना खुवाउने काममा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका छन् ।

 

नेपाल प्रहरी अफिसियल ट्टिरबाट प्रहरीप्रधान कार्यालयले यस घटनालाई गम्तिरतापुर्वक लिएको र घटनाको छानबिन हुने जानकारी गराएको छ । 

प्रतिक्रिया