परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्रीबीच क्षेत्रीय-अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल

admin

काठमाडौं, २ माघ : नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशङ्करबीच शुक्रबार भेटवार्ता भएको छ । नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री जयशङ्करबीच हैदराबाद हाउसमा भेटवार्ता भएको हो ।

भेटमा उनीहरूबीच नेपाल-भारत सम्बन्धका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल भएको नयाँ दिल्लीमा रहेको नेपाली राजदूतावासले जनाएको छ । भेटपछि हैदराबाद हाउसमा दुई देशका परराष्ट्रमन्त्रीको सह-अध्यक्षतामा संयुक्त आयोगको बैठक सुरु भएको छ ।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय साझेदारीका विषयमा विशेष छलफल हुने भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । बैठकमा ईपीजी प्रतिवेदन ग्रहणलगायत कोरोनाविरुद्धको खोप, ऊर्जा, कनेक्टिभिटीलगायत ४० भन्दा धेरै विषयमा छलफल हुनेछ ।

सीमा विवादका विषयमा भने छलफल हुन्छ या हुँदैन भन्नेबारे खुलाइएको छैन । बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार भारत गएका हुन् । बिहीबार पहिलो दिन नेपाल र भारत दुवै पक्षले बैठकमा छलफल गर्ने विषयसूची तय गरेका थिए । मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया