परियोजना थन्किएर बस्ने परिपाटी बन्द हुनपर्छ : मुख्यमन्त्री पौडेल

राष्ट्रिय समाचार समिति

हेटौँडा, १९ कात्तिक :प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले परियोजनाहरु शिलान्यास हुने तर काम नभएर थन्किने परिपाटी बन्द हुनुपर्ने बताउनुभएको छ ।बहुप्रतीक्षित नेपाल–भारत बहुप्राविधिक महाविद्यालयको शिलान्यास कार्यक्रममा आज उहाँले तोकिएको समय सीमाभित्र काम सम्पन्न गरे ठेकेदार कम्पनीलाई सरकारले पुरस्कारको व्यवस्था गर्ने बताउनुभयो । उहाँले २२ वर्षदेखिको सपना पूरा हुने दिशातर्फ अगाडि बढेको जनाउँदै सरकारले आगामी तीन वर्षभित्र कक्षा सञ्चालन गर्ने वातावरण बनाउने उल्लेख गर्नुभयो ।

प्रदेश ३ मात्र नभएर सिङ्गो राष्ट्रलाई आवश्यक पर्ने प्राविधिक दक्ष जनशक्ति उत्पादन गरेर स्वदेशी जनशक्तिले विदेशी जनशक्तिलाई विस्थापित गराउनुपर्ने उहाँको धारणा थियो । मुख्यमन्त्री पौडेलले प्रदेश ३ को हेटौँडामा मात्र नभएर प्रत्येक जिल्लामा र हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय आवश्यक पर्ने बताउँदै प्रदेश सरकार त्यसतर्फ अगाडि बढेको धारणा राख्नुभयो ।

कार्यक्रममा प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले मुख्यमन्त्रीले धेरै वर्षअघि देख्नुभएको सपना पूरा गर्न लामो समय कुर्नुपरेको बताउनुभयो । मन्त्री दुलालले प्रदेश सरकार गठन भएदेखि नै मुख्यमन्त्रीको अगुवाइमा प्रदेश ३ सरकार महाविद्यालय निर्माण गर्न लागि परेको र थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको बताउनुभयो ।

उहाँले प्राविधिक महाविद्यालयले मकवानपुरको पहिचान नै बदल्ने धारणा राख्नुभयो । औद्योगिक नगरीको परिचय बनाएको हेटौँडाले शैक्षिक केन्द्रको रूपमा समेत नयाँ परिचय निर्माण गर्दैगरेको अवस्थामा महाविद्यालयले त्यसलाई पूर्णता दिने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपालस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा अजय कुमारले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सुषुप्त भइसकेको परियोजनालाई मुख्यमन्त्री पौडेलको पहलमा ब्युँताएर शिलान्यासको अवस्थामा ल्याइएको र अब दुई वर्षपछि उद्घाटनसमेत गरिने उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले द्रुतगतिमा विकास हुँदै गएको मकवानपुरमा महाविद्यालय नयाँ फड्को भएको बताउनुभयो । उहाँले मकवानपुरले विकासमा एकपछि अर्को फड्को मार्दै गएको बताउँदै योजनाहरु सम्पन्न गराउन स्थानीयवासीहरुको पनि सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो ।

भारत सरकारको अनुदान सहयोगमा भा रु ३८ करोड ५३ लाख (नेरु करिब ६२ करोड) लागतमा २६ वटा सुविधासम्पन्न भवन, खेलमैदान, कक्षाकोठा, प्रयोगात्मक कक्षा वर्कप्लेस, छात्रावास तथा आवासका लागि आवश्यक भवन निर्माण हुने जनाइएको छ । हेटौँडा–६ स्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा रहेको करीब २७ बिघा क्षेत्रफलमा भवन निर्माण हुन लागेको हो ।

प्रतिक्रिया