पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्वलन गरे, प्रधानमन्त्री ओली

admin

काठमाडौं, १२ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा विशेष पूजासहित सवा लाख दीप प्रज्वलन गरेका छन् । विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्प गर्दै उनले पशुपतिनाथमा पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए ।

उनले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिएका छन् । पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्रस्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशन पनि दिएका छन् ।

विशेष पूजाका अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी भएका थिए ।

पशुपति क्षेत्रमा प्रधानमन्त्री ओलीलाई कोषका सदस्य सचिव ढकाल, कोषाध्यक्ष डा. मिलनकुमार थापा र कोष सञ्चालक परिषद्का सदस्यलगायत कर्मचारीले स्वागत गरेका थिए । यसैबीच राप्ती नदीमा बनेको पुल उद्घाटन र जनसभालाई सम्बोधन गर्न ओली आइतबार दाङ जाने कार्यक्रम रहेको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पर्ने राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्न र लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली दाङको देउखुरी जान लागेका हुन् ।

प्रतिक्रिया