प्याजको निर्यात नरोक्न भारतलाई औपचारिक आग्रह

admin

काठमाडौं, ३ असोज : सरकारले आयात नहुँदा प्याजको माग र मूल्य बढेपछि भारतसँग प्याजको निर्यात गर्न आग्रह गर्ने भएको छ । चाडपर्व नजिकिन थालेकाले प्याजको निर्यात नरोक्न भारतसँग औपचारिक आग्रह गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बजारमा हल्ला फैलिए जस्तो खाद्य सामग्रीको अभाव नभएकाले ढुक्क हुन सरकारले आग्रह समेत गरेको छ । खुद्रामा थोक मूल्यभन्दा दोब्बरमा किन्न उपभोक्ता बाध्य छन् । प्याजसँगै आलु र हरियो तरकारीको मूल्य पनि बढेको छ ।

लकडाउन, निषेधाज्ञासँगै पानी परिरहेकाले आलु प्याजसँगै हरियो तरकारीको आपूर्तिमा समस्या हुँदा भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

उपभोक्ता अधिकारकर्मीले भने बजारमा तरकारी नआएरभन्दा पनि आएका तरकारीको कालोबजारी हुँदा भाउ बढेको बताएका छन् । सरकारले प्याजको मूल्य केही बढे पनि कोभिड-१९ का कारण बजारमा खाद्य सामग्रीको आपूर्ति असहज नभएको दाबी गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले अहिले सरकारी र निजी क्षेत्रसँग खाद्य सामग्रीको मौज्दात पर्याप्त रहेको जानकारी दिए । खाद्य पदार्थको उत्पादन नरोकिएको र विदेशबाट पनि सजिलै आयात भइरहेकोले समस्या नहुने उनको भनाइ छ ।

नजिकिएका चाड पर्व दशैं तिहारमा पनि खाद्य सामग्रीको अभाव नहुने उनको दाबी छ । उनले कहीँकतै कालोबजारी गरेको थाहा पाए तत्काल वाणिज्य विभाग वा नजिकैको प्रहरीमा खबर गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया