प्रचण्ड-झलनाथ र माधवले विकास गर्न सकेनन्, म काम गर्छु भन्दा दिएनन्, एमाले नागरिकको सेवामा जान्छ : ओली

admin

रुपन्देही, ३० भदौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाट प्रचण्ड गुटमात्रै अलग भएको बताएका छन् । नेकपा एमाले रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समाज सेवा केन्द्र बनाएर एमाले अघि बढ्ने बताएका छन् ।

माओवादी केन्द्रका मुख्य नेताहरू एमाले मै रहेको भन्दै उनले माधव नेपालको बुद्धिमा लागेर प्रचण्डले आफनो नेतृत्वको सरकार ढालेको आरोप समेत लगाए । देशभर समाज सेवा केन्द्र बनाएर नागरिकको सेवामा एमाले जाने अध्यक्ष ओलीले बताए ।

‘कसैसँग सहयोग गर भनेर जाँदैनौ तर हाम्रो काम देखेर कसैले सहयोग गर्दछ भने अस्वीकार गर्दैनौँ,’ उनले भने । पूर्वप्रधानमन्त्री ओलीले विकास विरोधी तत्त्वले आफनो सरकारलाई विस्थापित गरेको बताए । उनले चुनावपछि एमाले सरकारमा आउने र विकासलाई निरन्तरता दिने बताए । ‘कम्युनिस्ट पार्टीका नाममा प्रधानमन्त्री बन्ने मौका पाएका झलनाथ खनाल, माधव नेपाल, प्रचण्डले विकास गर्न नसकेको उनले आरोप लगाए । ‘उनीहरूले गरेनन्, मैले काम गर्छु भन्दा दिएनन्’, ओलीले भने ।

यस्तै कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले आउँदो चुनावपछि एमाले पुनः सत्तामा जाने बताए । उनले एमालेबाहेक समृद्धिको खाका कसैले पनि कोर्न नसक्ने बताए । माधव नेपालले नेतृत्व गरेको पार्टीले देशभर एक सिट पनि जित्ने हैसियत नराख्ने नेता पौडेलले दाबी गरे । पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले ओली सरकारले ल्याएको लोकप्रिय बजेटलाई प्रतिस्थापन गरेर वर्तमान सरकारले जनविरोधी काम गरेको बताए ।

पौडेलले चुनाव जित्न सरकारमा बस्नुपर्छ भन्ने मानसिकता एमालेको नभएको पनि बताएका छन् । पौडेलले जनताको मनमा घर बनाएकाले चुनाव जित्न सरकारमै हुनुपर्छ भन्ने मान्यता एमालेले नराखेको बताए । ‘चुनाव जित्नका लागि सरकारमा बस्नुपर्छ भन्ने भ्रम नेकपा एमालेलाई छैन । हामी राज्यसत्ताको दुरुपयोग गरेर होइन, जनताको विश्वास जितेर चुनाव जित्ने ल्याकत राख्छौ’ पौडेलले भने, ‘जनताको मनमा घर बनाउँछौ, जनताको विश्वास जित्छौ र चुनाव जित्छौ ।’ उनले जनताकोमा जान एमालेसँग प्रशस्त मुद्दा र एजेण्डा रहेको समेत बताए ।

त्यस्तै अर्का उपमहासचिव घनश्याम भुसालले एमाले भाँडिएको भन्दै समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताए । ‘गल्ती गर्नेहरू सबैले समीक्षा गरौँ यो कुरा माधव नेपालमा पनि लागू हुन्छ’, उपमहासचिव भुसालले भने । उनले एमालेलाई कमजोर बनाउने र उत्ताउलो बन्ने छुट नभएको बताए । उपमहासचिव भुसालले पार्टीको आउँदो महाधिवेशनले एमालेलाई साङ्गठनिक रूपमा समेत व्यवस्थित गर्ने बताए ।

यसैगरी नेता टोपबहादुर रायमाझीले असफल नेताहरूले एमालेलाई घेराबन्दीमा राख्ने प्रयास गरे पनि त्यसलाई चिर्दै अगाडि बढ्न सक्षम रहेको बताए । चुनाव जित्ने हैसियत नभएपछि माधव नेपाल प्रचण्ड-कांग्रेसको शरणमा पुगेको रायमाझीले आरोप लगाए ।

प्रतिक्रिया