तिहार नजिकिदै गर्दा प्रज्वलनशील पदार्थ प्रयोग र उत्पादनमा कडाइ !

मनिषा थापा

काठमाडौँ : गृह मन्त्रालयले प्रज्वलनशील पदार्थ प्रयोग, आयात तथा उत्पादनमा पूर्ण प्रतिबन्ध लगाएको जनाउँदै यस्ता गतिविधि गरे कारवाही हुने जनाएको छ ।

दिपावली मनाउने क्रममा भूइँचम्पा, पटाका, आतिसबाजी जस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पर्ने, घाइते हुने र आगलागी भएर जनधनको क्षति हुने भएकाले त्यस्ता विष्फोटक र प्रज्वलनशील पदार्थको उत्पादन, आयात, खरीद, बिक्रीवितरण नगर्न र नगराउनसमेत मन्त्रालयले आग्रह गरेको छ । कसैले यस्तो गतिविधि गरेको पाइएमा कानून बमोजिम कारवाही हुने मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कुनै गुनासो वा कानून विपरीतको कार्य भएमा नजिकको सुरक्षा निकायमा खबर गर्न आग्रह गर्दै मन्त्रालयले अनुचित फाइदाका लागि हुने अवाञ्छित गतिविधिको निगरानी भइरहेको उल्लेख गरेको छ । ठगी गर्ने, कानून मिच्ने, लागुऔषको प्रयोग, प्रतिबन्धित मदिराको अवैध बिक्री जस्ता गतिविधि गरेको पाइएमा कानून अनुसार कारवाही हुनेसमेत मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया