प्रतिनिधिसभा बैठक : ‘ओली सरकारले गरेको कामलाई भत्काउन खोजियो’

admin

काठमाडौं, १२ साउन : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि खोप प्रभावकारी हुन नसकेको भन्दै सरकारको आलोचना गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको बिशेष समयमा नेकपा एमालेका पदम गिरीले देश कोराना कहरले आक्रान्त र उद्योगधन्दा अस्तव्यस्त रहेको जनाउँदै खोप व्यवस्थित ढङ्गले अघि बढाउन सरकारको ध्यानाकर्षण समेत गराए ।

बाढीपहिरो पीडितलाई राहत र सुरक्षित बसोबासको व्यवस्था गर्न तथा अघिल्लो सरकारले शुरु गरेको विकास निर्माणलाई बिना प्रतिशोध अघि बढाउन उनले माग गरे । उनले वर्तमान सरकार निर्दलिय भएको भन्दै यस अघिको सरकारले गरेको कामलाई भत्काउन खोजेको बताए ।

बैठकमा कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले लामो समयदेखि रिक्त रहेको उपसभामुखको चयन यथाशीघ्र गर्न र पुनस्र्थापित संसद् र सांसदलाई क्रियाशील बनाउन सुझाव दिए । कोभिड-१९ संक्रमण रोकथामका लागि प्रभावकारीरुपमा कार्यक्रम अघि बढाउन सर्वदलीय समिति बनाउनुपर्ने उनको भनाई छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का यशोदा सुवेदीले यस वर्षको बाढीपहिराबाट ठूलो जनधनको क्षति भएको मनाङ जिल्लामा विपद्पछिको पुनर्निर्माण र राहतका कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाउन सुझाव दिए ।

त्यस्तै जसपा नेपालका प्रमोद साहले नागरिकतासम्बन्धी विधेयक राजनीतिक दलबीच सहमति कायम गरी यथाशीघ्र यस विषयलाई अघि बढाउन माग गरे । बैठकमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६÷७७ पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आयोगको वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरे ।

सभाले पूर्वप्रतिनिधिसभा सदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उनको निधनप्रति सभामा एक मिनेट मौनधारणसहित शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गरियो । बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १५ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया