अधिवक्ताका लागि आधा घण्टाको समय तोकियो, प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दामा सुनुवाइ चल्दै

admin

काठमाडौं, ७ माघ : प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि बुधबार पनि सर्वोच्च अदालतमा बहस भइरहेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा परेका मुद्दामाथि गएको आइतबारदेखि नियमित सुनुवाइ भइरहेको हो । अहिलेसम्म प्रतिनिधि सभा विघटनको विपक्षमा अधिवक्ताहरूले बहस गरिरहेका छन् ।

बहसका क्रममा अधिवक्ताहरूले घण्टौँसम्म समय लिएपछि बुधबारदेखि समय तोकिएको छ । बुधबारदेखि एक जना अधिवक्ताले बढीमा आधा घण्टा बहस गर्न पाउने गरि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले समय निर्धारण गरेको सर्वोच्च अदालतले जनाएको छ ।

बुधबारको पहिलो बहस संविधानविद् चन्द्रकान्त ज्ञवालीले गरेका छन् । उनलाई प्रधानन्यायाधीश राणाले आधा घण्टाको समय दिएका थिए । बहसमा ज्ञवालीले प्रतिनिधि सभाबाट सरकार गठनको सम्भावना भएसम्म विघटन गर्न नमिल्ने दाबी गरे । उनले अहिले प्रतिनिधि सभा विघटन गर्नुपर्ने कुनै कारण नै नभएको भन्दै प्रधानमन्त्रीको मनलाग्दी निर्णयलाई सर्वोच्चले सच्याउनुपर्ने बताए ।

प्रतिक्रिया