प्रदेश सरकारद्वारा काभ्रेको क्षति विवरण माग

राष्ट्रिय समाचार समिति

काभ्रे, ८ साउन : प्रदेश नं ३ सरकारले जिल्ला प्रशासन कार्यालय काभ्रे सँग विपद् (बाढीपहिरो)ले जिल्लामा पु¥याएको भौतिक संरचना एवं जनधनको क्षतिको विवरण मागेको छ । अबिरल वर्षाले गत असारको अन्तिम सातादेखि विभिन्न जिल्लामा जनधनको क्षति भएपछि प्रदेश सरकारद्वारा स्थानीय प्रशासनमार्फत विवरण माग गरिएको हो ।

जिल्ला प्रशासन कायालयले जिल्ला समन्वय समितिमार्फत स्थानीय तहमा यही साउन २ गते परिपत्र गरी विपद्बाट भएको क्षतिको विवरण मागेको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले प्रदेश सरकारबाट माग भए बमोजिम जिल्लाका स्थानीय तहसँग सडक, भवनलगायत सार्वजनिक संरचना एवं व्यक्तिगत घर पशु चौपायालगायत धनजनको क्षतिको विवरण मागिएको जानकारी दिनुभयो ।

विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रजिअ रानाले भन्नुभयो “प्रदेश सरकारबाट माग भएबमोजिम स्थानीय तहसँग क्षतिको विवरण माग गरेका छौँ, तीन दिनको म्याद दिइएको हो, तर सबै स्थानीय तहबाट विवरण आइसकेको छैन ।” काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । अबिरल वर्षाका कारण जिल्लामा घर पहिरोले पुर्दा हालसम्म दुई महिलासहित एक बालिकाको मृत्यु भएको छ । रासस

प्रतिक्रिया