प्रदेश २ का मन्त्रीलाई गाडीमाथि गाडी

admin

काठमाडौं, पुस २६ : प्रदेश २ सरकारले २२ महिनामा उपलब्धिमुलक काम खासै गर्न सकेको छैन। मन्त्रीहरूले सेवासुविधा र सुखसयलमा भने कुनै कमी राखेका छैनन्। उनीहरूले तीनवटासम्म सरकारी गाडी उपभोग गरिरहेका छन्। केही मन्त्रालयले नयाँ गाडी खरिद प्रक्रियासमेत अघि बढाएका छन्।

नयाँ गाडी प्रयोगमा ल्याएपछि पुरानो चाहिँ प्रशासनलाई बुझाउनुपर्ने हुन्छ। तर, उनीहरूले पुराना गाडी पनि छाडेका छैनन्। मुख्यमन्त्री लालबाबु राउतले मात्रै नयाँ किनिएको ज १ झ ४५६ नम्बरको एउटा गाडी प्रयोग गर्छन्। आर्थिक मामिलामन्त्री विजय यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दुवै गाडी चलाउँदै आएका छन्। उनीहरूले पुरानो गाडी आफन्त, परिवार र कार्यकर्ताको प्रयोगमा दिएको खुलेको छ।

मन्त्री साहले नयाँ गाडी ज १ झ ४४६ र एउटा अर्को प्रयोग गरिरहेका छन्। कानुनमन्त्री यादवले ज १ झ ४४२ नम्बरको गाडी प्रयोग गरिरहेका समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ४ करोड ५२ लाख ३० हजार, आर्थिक मामिला तथा योजना मन्त्रालयले ३ करोड ८५ लाख ४४ हजार रुपैयाँ गाडी खरिदमा खर्च गरेका थिए।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २ करोड ८४ लाख ४० हजार, उद्योग पर्यटनले २ करोड ४० लाख ७५ हजार, कृषिले २ करोड ५२ लाख २३ हजार, भौतिक पूर्वाधारले २ करोड ४४ लाख ९२ हजार, सामाजिक विकासले २ करोड १७ लाख ६४ हजार रुपैयाँ गाडी किन्न खर्च गरेका थिए।

प्रदेशसभाले ९ करोड ७७ लाख ७७ हजार, प्रदेश नीति आयोगले २ करोड ७१ लाख ४८ हजार, मुख्य न्यायाधिवक्ता कार्यालयले १ करोड ४ लाख ८२ हजार, प्रदेश प्रहरी कार्यालयले ४२ लाख ७५ हजार, वन अनुसन्धान केन्द्रले २ लाख ९८ हजार र पशुपन्छी निर्देशनालयले २ लाख ५० हजार रुपैयाँ खर्चिएको तथ्यांक प्रदेश लेखानियन्त्रकको कार्यालयसँग छ।

प्रतिक्रिया