प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले पदको गरिमालाई धूलिसात् बनाउँदै लग्यो : कांग्रेस

admin

काठमाडौं, १२ माघ : नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक भएको बताएको छ । सोमबार एक विज्ञप्ति निकालेर कांग्रेसले फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु सबैको नैसर्गिक अधिकार भएको जनाएको हो ।

‘प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेको अधिनायक आकाङ्क्षालाई थप उजागर गरेको छ । कुनै पनि रङ्ग र स्वरूपको अधिनायकवादविरुद्ध सङ्घर्षमा उभिनु चाहिँ देशभक्तहरूको जिम्मेवारी, कर्तव्य र पहिचान हो’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको बताएको छ । कांग्रेसले सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान भएको विज्ञप्तिमा उल्लेख छ ।

‘आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नु, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व-प्रधानन्यायाधीशहरूलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको बर्बराहट हो’, कांग्रेसले भनेको छ । प्रधानमन्त्रीका पछिल्ला कैयौँ अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धूलिसात् बनाउँदै लगेको कांग्रेसको ठहर छ ।

आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्ममार्फत प्रधानमन्त्री ओलीले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढङ्गले अपमान गरिएको विज्ञप्तिमा भनिएको छ ।

‘प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरूलाई देशविरोधी, देशद्रोही भनेर गैर-जिम्मेवार ढङ्गले लाञ्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेसा, समुदायलाई लाञ्छित र अपमानित गर्ने ढङ्गले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया