प्रम ओलीलाई मुस्कानको चिठी – ‘एसिड आक्रमण गर्नेलाई कडा सजाय मिल्ने कानुन भएको भए म अस्पतालको बेडमा हुन्न थिए’

मनिषा थापा

भक्तपुर : एसिड आक्रमणबाट पिडित मुस्कान अन्सारी खातुनको हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनले अस्पतालबाटै प्रधानमन्त्रीसँग एसिड आक्रमणकारीला फाँसी दिन माग गरेकी छिन् ।


उनले प्रधानमन्त्रीलाई भावूक चिठी लेखी पठाएकी छिन्। उनले चिठीमा भनेकी छिन् – प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला । केही वर्ष पहिले सीमा बस्नेत र संगीता खड्कामाथि एसिड आक्रमण भएको बेला नै कडा कारवाही भएको भए आज म यो अस्पतालको बेडमा हुने थिइन होला ।’ उनले चिठीमार्फत आक्रमणकारीलाई कडा सजाय दिन आग्रह गरेकी छिन्। उनले कडा कानुन बने अब फेरी कोहि माथि एसिड आक्रमण नहुने समेत् बताएकी छिन्।

कक्षा ९ मा अध्ययरत वीरगञ्जकी खातुनमाथि स्कुल जाने क्रममा भदौ २० गते एसिड आक्रमण भएको थियो । उनीमाथि एसिड आक्रमण गर्ने माजिद मियाँ र सम्साद मियाँलाई पक्राउ गरी ज्यान मार्ने नियत तथा तेजाबलगायत अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पारेको मुद्दा दर्ता गरेको थियो । अदालतका अभियोग पक्षले माजिदलाई १० वर्ष कैद र १ लाख जरिवाना तथा सम्सादलाई ५ देखि ८ वर्ष कैद र १ लाखदेखि ५ लाखसम्म जरिवाना मागदाबीसहित मुद्दा दर्ता गरेको भए पनि जिल्ला अदालतले दुवै नाबालिग रहेको भन्दै सुधार गृहमा पठाइएको छ ।

उनको यस्तो छ प्रधानमन्त्रीलाई लेखेको पत्र…

मिति :२०७६/७/५

माननीय प्रधानमन्त्रीज्यू
म मुस्कान खातुन अन्सारी

मेरो तर्फबाट नमस्ते । म एउटा तेजाब आक्रमणको नानी । हजुरलाई एउटा सानो चिठी । यो घटना मसँग घट्यो । यो घटनाको पीडा भनेको ठुलो पीडा हो । पहिले सीमा बस्नेत र संगीता खड्कालाई एसिड आक्रमण भएको बेला कडाभन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुने थिइन होला । प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला ।

यसपाली एसिड आक्रमणकारीले ठुलो भन्दा ठुलो सजाए पाओस् ता कि म जस्तो एउटा बलिकामाथि या चेलीबेटी कसैमाथि तेजाव आक्रमण नहोस् । मैले जति पीडा खपेको छु, त्यो पीडा अरु कोही माथि पनि नहोस् । यो पीडा भनेको सानो पीडा होइन । एउटा देशको ठूलो पीडा हो । आमा र बुवाको पनि पीडा धेरै ठुलो पीडा हो । यो पीडा कसैको आमा र बुवाले खप्नु नपरोस् । त्यो दोषीलाई यसपालि ठूलो भन्दा ठुलो सजाय होस् । मेरो हजुरसँग बिन्ती र अपेक्षा छ । हजुरसँग मेरो एउटा अनुरोध छ कि मेरो पीडा बुझिदिनु होस्। यो घटना कसैमाथि नहोस् र कोही पनि तेजाब आक्रमण भएको चेलीबेटी अस्पताल नआओस् भन्ने अनुरोध छ ।

धन्यवाद 

प्रतिक्रिया