प्रधानमन्त्री ओली अस्वस्थ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ३० साउन: सिंगापुरमा १० दिन लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली फेरि विरामी परेका छन्। ओलीलाई ज्वरोले च्यापेपछि बिहीबार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई ज्वरोले च्यापेपछि बैठक भोली ३ बजेसम्मका लागि स्थगित भएको हो।

‘प्रधानमन्त्रीलाई ज्वरो आयो, त्यसपछि हामीले नै उहाँको आरामका लागि भोलीसम्मलाई सचिवालय बैठक सार्न भन्यौँ’, श्रेष्ठले भने, ‘उहाँलाई आराम चाहिएका बेला धपेडी हुने भएकाले बैठक सारिएको हो।’ नेकपा सचिवालय सदस्यबीच आज सामान्य छलफल मात्रै भएको श्रेष्ठले बताए । ‘आज सचिवालय सदस्यहरुबीच अनौपचारिक छलफल मात्रै भयो।

बैठक बस्दा झन् बढी समस्या हुने भएकाले प्रधानमन्त्री आराममा हुनुहुन्छ’, श्रेष्ठले थपे, ‘अहिले सामान्य समस्या भएको हो। त्यस्तो जटिल केही होइन।’ १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका ओलीमा बेला बेला स्वास्थ्य समस्या देखिने गरेको छ । पछिल्लो पटक सिंगापुर गएका ओलीको मृगौला फेरि प्रत्यारोपणबारे पनि त्यहाँका चिकित्सकसँग परामर्श भएको थियो।

ज्वरो देखिएपछि फेरि उपचारका लागि विदेश लैजानेबारे सचिवालयले आवश्यक परामर्श थालेको छ। तर अवस्थाबारे एकीन भएपछि मात्रै निचोडमा पुगिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया