प्रधानमन्त्री दुई पटक र सांसद चार पटकभन्दा नबनौँ : प्रवक्ता शर्मा

admin

झापा, ३ असोज : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार गृह जिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक गर्दै चुनावी अभियान आरम्भ गरेका छन् । बिर्तामोडको अग्रसेन भवनमा नेपाली कांग्रेसको विचार प्रचार अभियान संयोजन समितिद्वारा आइतबार आयोजित कार्यक्रममा अवधारणा सुनाउँदै आफूले इमानदारीपूर्वक राजनीतिमा परिवर्तन ल्याउन चाहेको बताए ।

नेपाली कांग्रेसको १४औँ महाशिवेशनमा महामन्त्री पदका उम्मेदवार शर्माले वीपी कोइरालाको जन्मजयन्तीको अवसरमा उनी जेल बसेको सुन्दरीजलमा गएर उम्मेदवारी घोषणा गरेको र समाजवादी नेता सिके प्रसाईँ र सङ्घर्षशील नेता तुर्सा हेमरमले वीपीको विचारमा चिन्तन र मलजल गरेको गृह जिल्ला झापामा आएर चुनावी अभियान थालेको बताए ।

प्रवक्ता शर्माले २४ बुँदामा आफ्नो राजनीतिक अवधारणा प्रस्तुत गरेका छन् । त्यस अवधारणामा देशको समृद्धिको खाका, परराष्ट्र नीति, निर्वाचन प्रणाली, संविधानका त्रुटिको सम्बोधन, शासकीय हैसियतमा जानेको कार्याविधिलगायतका महत्त्वपूर्ण विषयमा विभिन्न प्रस्ताव गरिएको छ । उनले देशको राष्ट्रपति पदमा एक पटक, प्रधानमन्त्री पदमा दुई पटक र विधायकमा चार पटक मात्र निर्वाचित हुन पाउने संवैधानिक व्यवस्था हुनुपर्ने प्रस्ताव गरेका छन् ।

यो अवधारणा लागू भएमा नयाँ पुस्ताले राजनीतिमा नेतृत्व गर्ने अवसर स्वतः पाउने उनले बताए । सात सालदेखि अहिलेसम्म आउँदा देशमा ठूला राजनीतिक क्रान्ति गर्न नेपालका राजनीतिक दल सक्षम बनेको उल्लेख गर्दै उनले नेता र दलहरूको आचरण र व्यवहारमा लोकतान्त्रिक परिवर्तन आएको अनुभूति आमनागरिकले गर्न नपाएको गुनासो गरे ।

सत्तामा जुन दल गए पनि देश सबैको साझा भएको हुँदा देशको राजनीति असल संस्कारयुक्त हुनुपर्नेमा उनले जोड दिए । अहिले लामो अवधि जेलनेल भोगेका र प्रधानमन्त्री भइसकेका दलका नेता अलि कति आन्तरिक कलह हुनासाथ सहयोद्धामाथि नै निकृष्ट गालीगलौजमा उत्रिने गरेको टिप्पणी गर्दै उनले केही नेताको यस्तै कमजोरीलाई औल्याएर लोकतन्त्र नचाहने शक्ति गणतन्त्र असफल भएको गलत अफवाह फैलाउन उद्यत रहेको बताए ।

देशको रूपान्तरण गर्न राम्रो नीति भएको राजनीतिक दल चाहिएजस्तै नेपाली कांग्रेसभित्र पनि सङ्लो र दूरदर्शी भावना बोकेको नेतृत्व आवश्यक भएको भन्दै नेता शर्माले आउँदो महाधिवेशनमा मेचीदेखि महाकाली र प्रवासमा रहेका सम्पूर्ण नेपाली कांग्रेसका कार्यकर्ताको शुभेच्छा र मत पाउनेमा आफू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया