प्रधानमन्त्री बन्न त्यति सजिलो पनि छैन, कांग्रेस सरकारमा किन र केका लागि जाने ?

admin

काठमाडौं, २० फागुन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सरकारमा किन र केका लागि जाने प्रश्न उठेको बताएका छन् । चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने, ‘हामी सरकारमा किन र केका लागि जाने प्रश्न स्वाभाविक रुपमै उठ्छ । हाम्रो सभापति देउवाजीले भन्नु भएजस्तो प्रधानमन्त्री बन्न त्यति सजिलो पनि छैन ।’

पौडेलले प्रचण्ड-नेपाल समूहलाई सहयोग गरेर कांग्रेस सरकारमा नजान राम्रो हुने बताए । ‘हामी सरकारमा किन र केका लागि जाने भन्ने प्रश्न उठ्छ’ उनले भने, ‘यस्तो अवस्थामा हामी अरुलाई सहयोग गरेर बाहिरै बस्नुपर्छ ।’ पौडेलले सभापति शेरबहादुर देउवाले भनेजस्तो कांग्रेसले प्रधानमन्त्री पद लिन त्यति सजिलो नभएको बताए ।

यस्तै उनले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव पारित गर्न कांग्रेसले नेकपाको प्रचण्ड-नेपाल समूहलाई सहयोग गर्ने बताए । ‘संसदमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आए हामी त्यसलाई समर्थन गर्छौं,’ उनले भने, ‘संविधान र लोकतन्त्रलाई नै खतरामा पार्नेलाई साथ दिन सकिन्न ।’

पौडेलले ओलीलाई सत्ताबाट हटाउन कांग्रेस नेकपाको प्रचण्ड-नेपाल समूहसँग मिल्ने पनि बताए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेकाले उनलाई सहयोग गर्दा लोकतन्त्र नै खतरामा पर्ने पौडेलको भनाई छ ।

प्रतिक्रिया