बलिका लागि बिहारका बाबाले मगाएका नेपाली मोडेलको उद्धार, सात पक्राउ (भिडियो सहित )

admin

काठमाडौँ, १० पुस:  मोडलिङ गर्ने भन्दै एक युवतीलाई बेचविखन गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मोडलिङ गर्ने भन्दै एक युवतीलाई फकाएर विराटनगर हुँदै भारत पु¥याएर तान्त्रिक पूजा गरेर बलि चलाउन खोजेको आरोपमा सातजनालाई काठमाडौँ र विराटनगरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरीका ४० वर्षीय उमेश शाह र ३५ वर्षीय उमेश माझी, दाङका २४ वर्षीय दिलकुमारी बुढामगर, मोरङका ५१ वर्षीय दिलीप पोदार, धादिङका २३ वर्षीय प्रेममाया तामाङ र सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी रहेका छन् ।

परिसरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा धादिङकी प्रेममाया तामाङले म्युजिक भिडियोमा मोडलिङ गर्न ६ फिट उचाई भएकी युवती चाहिने भनेर एक युवतीको हाइट नापेर विराटनगरमा रहेका उमेश शाहलाई पठाएर शाहको आग्रहअनुसार युवतीलाई विराटनगर हुँदै भारत लाने क्रममा पक्राउ गरिएको जानकारी दिएको हो ।

भारत लानुपूर्व काठमाडौँमा रहेकी पीडितयुवतीलाई पक्राउ परेकाले महिनाबारी भए नभएको, घाउ भए नभएको, शल्यक्रिया भए नभएको सोधेका थिए । पक्राउ परेकाले उक्त कुरा सोधेसँगै पीडित युवतीले प्रहरीलाई खबर गरेकी थिइन् । पत्रकार सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पीडित युवतीको उजूरीकै आधारमा मानव बेचबिखन कार्यमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल भएको बताउनुभयो ।

पीडित युवतीले पुस ४ गते प्रहरीलाई जानकारी गराएसँगै प्रहरी पीडितको पिछा गर्दै विराटनगर गएको थियो । “पीडित युवतीलाई काठमाडौँबाट विराटगर जाने हवाई टिकट र खर्चसमेत पक्राउ परेका कृष्ण तामाङले पठाएको अनुसन्धानमा खुलेको छ,”–परिसर प्रमुख सुवेदीले भन्नुभयो ।

पीडित युवती पक्राउ परेकी दिलकुमारी बुढाको साथमा विराटनगर गएको अनुसन्धानमा खुलेको छ । हवाईजहाजबाट विराटनगर पुगेकी पीडित युवतीलाई कृष्ण तामाङ र उमेश शाहले भ्यानमा राखेर विराटनगर जलजलाचोकस्थित कालीमन्दिर धर्मशालामा लगेर राखिएको थियो । पीडित युवतीलाई विराटनगरबाट मोडलिङ गराउने भन्दै पूजाका सामान किनेर जोगबनी पारी लैजाने योजना बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएको र पीडित महिलालाई उद्धार गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

“पक्राउ परेका व्यक्ति मोटो रकम पाउने आशामा युवतीलाई भारत लैजान लागेको अनुुन्धानमा खुलेको छ,”–उहाँले भन्नुभयो । घटनाको मुख्य योजनाकार दिलीप पोदार भएको परिसरले जनाएको छ । पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये उमेश जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अपहरण, शरीर बन्धक तथा हातहतियार तथा खरखजना मुद्दामा धरौटीमा छुटेको व्यक्ति भएको प्रहरीले जनाएको छ । पक्राउ परेकासँग प्रहरीले रु एक लाख नौ हजार ५०० नगद, विभिन्न बैंकको नौ लाख एक हजार बराबरको चेक, कालो रङ्गको धागो, गेरु रङको कपडा, कालो धागोले बाँधेको दुई जन्तर र तान्त्रिक पूजाका सामाग्रीलगायत बरामद गरेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया