बाँस्कोटाको अडियो लिक गर्ने मिश्रविरुद्ध साइबर क्राइमको उजुरी दर्ता

admin

काठमाडौं, ११ फागुन : निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध संसदको सार्वजनिक लेखा समितिले आइतबार साइबर क्राइमको उजुरी दर्ता गरेको छ ।

समितिका सदस्य सांसदहरुले मिश्रले अडियो प्रकरणमा आफूहरुलाई समेत मुछेर चरित्रहत्या गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी दर्ता गराएका हुन् । समितिका सचिव डा. रोजनाथ पाण्डेले आइतबार उजुरी दर्ता गरिएको पुष्टि गरेका छन् ।

बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गर्न खोजेको अनियमिततामा सार्वजनिक लेखा समितिका सांसदहरुको पनि मिलेमतो रहेको भन्दै सञ्चार माध्यममार्फत आरोप लगाएका थिए । समितिको बैठकले ३ दिन अघि नै प्रहरीको साइबर क्राइम ब्यूरोको नाममा छानविन गरेर कारवाहीका लागि पत्राचार गरेको थियो ।

तर, प्रहरीको त्यस किसिमको छुट्टै ब्यूरो नभएका कारण प्रहरी मुख्यालयमा आइतबार अर्को उजुरी दर्ता गरिएको हो । प्रहरी मुख्यालयमा रहेको साइबर अपराध हेर्ने शाखामा उजुरी दर्ता गरेको पाण्डेले बताए । लेखा समितिका मान्छेहरुको पनि मिलेमतो रहेको आरोप लगाएको आधारमा लेखा समितिले मिश्रमाथि साइबर क्राइमको उजुरी हालेको हो ।

प्रतिक्रिया