बाक्लो हुस्सु लाग्ने क्रम शुक्रबारसम्म रहने, सावधानी अपनाउन आग्रह

admin

काठमाडौं, २९ पुस : तराईमा आउँदो शुक्रबारसम्म बिहानको बेला बाक्लो हुस्सु लाग्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । पूर्वदेखि पश्चिम तराईका धेरै ठाउँमा सोमबारदेखि बाक्लो हुस्सु लाग्न थालेको हो । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्ने र बेलुकीपख हटेर जाने क्रम आउँदो शुक्रबारसम्म कायम रहने मौसमविद वरुण पौडेलले जानकारी दिएका छन् ।

मंगलबार र सोमबार तराईका विभिन्न ठाउँमा यस वर्षकै बाक्लो हुस्सु लागेको थियो । बुधबार पनि धेरै ठाउँमा बिहानैदेखि हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ । बिहान अबेरसम्म घर बाहिर निस्कन नसक्दा दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउनेलाई समस्या भएको छ । चिसोले बालबालिका र वृद्धवृद्धालाई बढी असर गरेको छ ।

हुस्सु र शितका कारण चिसो अझै बढ्ने भएकाले सकभर घरभित्रै बस्न, बाक्लो कपडा लगाउन, मनतातो पानी पिउन र प्रोटिनयुक्त खानेकुरा बढी खान डाक्टरले सल्लाह दिएका छन् । यसैबीच काठमाडौंमा पनि सोमबारदेखि आकाश धुम्म हुन थालेको छ । अघिल्लो हप्ता बदली भएर खुलेको आकाश फेरि धुम्म भएको हो ।

आकाश खुलेपछि काठमाडौंमा दिउँसो गर्मी अनुभव हुन थालेको थियो । तर सोमबारदेखि दिउँसो चिसो हुन थालेको छ । सोमबार काठमाडौंको अधिकतम तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियस रहेकोमा मंगलबार घटेर १८ दशमलव ६ डिग्री सेल्सियस कायम भएको थियो । बुधबार पनि काठमाडौंको तापक्रम यही हाराहारीमा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा बाक्लो हुस्सु नलागे पनि बिहानपख कुहिरो र दिउँसो तुवाँलो लाग्ने गरेको छ । काठमाडौंको मौसमले हवाइ उडानमा असर नगरे पनि तराईमा दिउँसोसम्म बाक्लो हुस्सु लाग्ने गरेका कारण कतिपय उडान रद्द र कतिपय ढिलो हुने गरेका छन् ।

बुधबार पहाडी भेगमा आंशिक बदली रहने र केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार र बिहीबार प्रदेश १ र गण्डकी प्रदेशको एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ भने बाँकी ठाउँहरुमा मौसम सफा रहने छ ।

प्रतिक्रिया