बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा

admin

काठमाडौं, २ असोज : नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ ।

श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक काठमाडौंबाट रामेछापको सदरमुकाम मन्थलीसम्म विद्युतीय मिनी बस सञ्चालनमा ल्याएको हो ।

सो मिनी बसको शुक्रबार एक समारोहबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गरेका हुन् । कोटेश्वरबाट शुक्रबार दुईवटा मिनी बस मन्थलीतर्फ प्रस्थान गरेका छन् ।

उनले सो अवसरमा आयातित इन्धन डिजेल र पेट्रोललाई विस्थापित गरी स्वदेशी विद्युत्बाट सवारी साधन सञ्चालन गर्दा वातावरणीय स्वच्छता कायम हुनुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए ।

नेता नेपालले विद्युत्लाई व्यावसायिक प्रयोजनमा उपयोग गर्न सकिए भोलिका दिनमा विद्युत् खपतको समस्या नरहने र आयातित इन्धनको निर्भरता कम गर्न सकिन्छ भने ।

विश्वका अधिकांश मुलुकहरुले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको अवस्थामा विद्युतीय सवारी साधनलाई कर लगाउनु उपयुक्त होइन भन्दै उनले यस्ता सवारीलाई प्रोत्साहन पुग्ने गरी नीतिगत व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

२० सीट क्षमताका यी मिनी बस एनबी ग्रीनटेक इन्टरनेशनल प्रालिले चीनबाट नेपाल ल्याएको हो । गाडीको अधिकतम गति ११० किलोमिटर प्रतिघण्टा रहेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक नेमकृष्ण मानन्धरका अनुसार मिनी बसमा ८६ किलोवाट घण्टा लिथियम ब्याट्री, पिकपावर ११० किलोवाटको इलेक्ट्रिक मोटर, एयर कण्डिशनर, मोबाइल चार्जर, एयरब्यागका साथै आरामदायी फोल्डिङ सिट छन् ।

बस सञ्चालक कम्पनी भवलक्ष्मीका निर्देशक ऋतुप्रसाद चौलागाईँले यस्ता किसिमका बिजुली बसले वातावरण संरक्षणमा योगदान गर्नुको साथै आफ्नै देशमा उत्पादित बिजुलीको खपत भएर आयातित इन्धनको समेत प्रतिस्थापन हुने बताए ।

प्रतिक्रिया