बेलायतमा कोरोना भाइरसको दोस्रो लहर आयो : प्रधानमन्त्री जोन्सन

अस्मिता बेल्बासे

एजेन्सी, ३ असोज : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा अहिलेको अवस्थामा नै कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने बताएका छन् ।

प्रधानमन्त्री जोन्सनले शुक्रबार सो विषयमा सार्वजनिक जानकारी नै दिएका हुन् । उनले भनेका छन्, अहिलेको अवस्थामा नै हामीले दोस्रो लहरको महसुस गरिसकेका छौँ र हामीलाई लाग्छ हामीले अब सामाजिक दुरी कायम गर्नुपर्ने अलिक कडा खालका प्रतिबन्धहरु पनि लगाउनुपर्ने हुनसक्छ ।

बेलायतको स्वास्थ्य तथा सामाजिक व्यवस्था मन्त्रालयले पनि यस विषयमा जानकारी दिएको छ । सो विभागले केही हप्तायताको अवस्था निकै नै नाजुक बन्दै गएको बताएको छ । सो मन्त्रालयले गएको २४ घन्टा यता यहाँ ४ हजार ३२२ जना संक्रमित भेटिएको जनाएको छ ।

यो संख्या गएको मे महिनापछिकै एकै दिनमा देखा परेको सबैभन्दा ठूलो संख्या हो । यसअघि नै बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरूले प्रधानमन्त्री बोरिस जोन्सनलाई यो वर्ष जाडोयाममा कोरोना भाइरसको दोस्रो लहर आउन सक्ने बताएका थिए ।

उनीहरुले यहाँ दोस्रो पटक भाइरसको वेभ आउन सक्ने भन्दै त्यस खतरासँग जुध्नका लागि आवश्यक तयारीका साथ बस्न भनेका हालै बताइएको थियो । बेलायत सरकारद्वारा गठित एउटा वैज्ञानिक समितिले बेलायतमा आउँदो जाडोयाममा कोरोनाका कारण स्थिति झन् भयावह हुने चेतावनी दिएको समाचारमा जनाइएको थियो ।

तर, कतिपयले भने गत महिनामात्र सार्वजनिक भएको सो प्रतिवेदनको अनुमान विश्वास गर्न नसकिने खालका रहेको र यसले पहिलो संक्रमण लहरबाट पहिलेको भन्दा बढी असर नगर्ने जनाएका थिए ।

प्रधानमन्त्री जोन्सनले भनेका छन्, ‘यो अवस्था निकै नै खराब हो र अब यो दोस्रो पटक आएको लहरको नियन्त्रणका लागि हालको भन्दा कडा अवस्थाको प्रतिबन्धहरु लगाउनुपर्ने हुनसक्छ ।’ तर बेलायतले कस्तो प्रकारको प्रतिबन्ध लगाउन सक्छ भन्ने बारेमा भने केही बताएका छैनन् ।

प्रतिक्रिया