भोकले बिष्फोटको अवस्था

तुलसी नेपाल

काठमाण्डौ – महिनौंको लकडाउन अनि फेरि निषेधाज्ञाले काठमाडौं उपत्यकालगायत शहरी भेगमा भोकमरीको खतरा बढेको छ । विशेषगरी दैनिक ज्यालादारी गर्नेहरु मारमा परेका छन् । कोठाभाडामा बस्नेहरु न त भाडा तिर्न सक्ने अवस्थामा छन् न त दुई छाक टार्न सक्ने अवस्थामा छन् ।

शहरी भेगमा अहिले भोकमरीको खतरा बढेको छ । तैपनि सरकारले कोरोना भाइरसको रोकथामका लागि भन्दै निषेधाज्ञा कडाई गर्न छाडेको छैन ।

कतिपय उद्दोगधन्दा बन्द छन् । पर्यटन व्यवसाय सबैभन्दा संकटमा परेको छ । केही ठुला होटल व्यवसायीले आधा तलबमा केही कर्मचारी राखेका छन् । राजधानीको पाँचतारे होटलमा कार्यरत एक मजदुर भन्छन्, ‘आधा तलबले धन्न टिकिएको छ, सँगै ऋण पनि बोकिएको छ ।’

यातायात व्यवसायी छ महिनायता कामविहिन छन् । सार्वजनिक यातायात केही दिन सञ्चालन भएपनि बाँकी समय बन्द छ । सार्वजनिक यातायातको व्यवसाय गर्दै आएका दिलकुमार लिम्बु आफूहरु बर्बाद भएको बताउँछन् । उनी भन्छन्, ‘मर्नु कि बहुलाउनु जस्तो भइसकेको छ ।’

निजी शैक्षिक संस्थामा कार्यरत लाखौं शिक्षकहरुले रोजगारी गुमाएका छन् । कतिपयले महिनौंको तबल पाएका छैनन् । ठुला विद्यालयहरुले आधा तलबमा शिक्षकहरुलाई राखेका छन् । निजी विद्यालयका एक शिक्षक भन्छन्, ‘अब कृषिमजदुरी गर्न जानुपर्ने भएको छ र त्यो पनि पाइने हो कि होइन ?’

हरेक क्षेत्रमा मध्यम तथा तल्लो वर्गका नागरिक संकटमा परेका छन् । शहरमा सबैभन्दा बढी पीडा थपिएको छ । मानिसहरु सामाजिक अभियन्ताहरुले बाँडेको खानाको आशामा समेत रहन थालेका छन् । तर, सरकारले राहत दिने कुनै गम्भीरता देखाएको छैन ।

अवस्था यति भयावह भइसक्यो कि कतिपय जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले ठुलो चुनौती सामना गर्नुपर्ने जानकारी गराइसकेका छन् । विश्वस्त स्रोतका अनुसार सरकारको जिम्मेवार निकायमा भोकमरीले बिष्फोटक अवस्था आउने सम्मको रिपोर्ट पुगेको छ । सुरक्षा निकायले सम्भावित खतराबारे शतर्कता बढाएको छ । कुनैपनि बेला स्थिति भड्कनसक्नेतर्फ शतर्कता अपनाइएको छ ।

प्रतिक्रिया