मनसुन थप लम्बिने : केही दिन झरी र भारी वर्षा हुने

admin

काठमाडौँ, ७ असोज : यस वर्षको मनसुन पूर्वानुमान गरेको भन्दा केही दिन लम्बिने भएको छ । पछिल्लो दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्ष २३ सेप्टेम्बर अर्थात आज (बुधबार) मनसुन सकिने दिन भए पनि मनसुन अझै कहीदिन सक्रिय रहने महाशाखाले अनुमान गरेको छ ।

महाशाखाका अनुसार अबको चार–पाँच दिन मनसुन सक्रिय हुने छ । गत वर्ष जस्तै यस वर्ष पनि अक्टोबर महिनासम्म मनसुन रहने प्रारम्भिक अनुमान छ तर नेपालमा लामो समयको पूर्वानुमान गर्न आवश्यक पूर्वाधार नभएकोले कहिले सम्म मनसुन रहन्छ अहिले नै भन्न नसकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा हाल आगामी ३ देखी ४ दिन सम्मको मात्र पूर्वानुमन गर्ने गरिएको छ ।

नेपालमा पूर्वी र मध्यक्षेत्र हुँदै पश्चिमतर्फ मनसुनी वायु सक्रिय भइसकेको छ र त्यसकै प्रभावले अझै केही दिन कतै झरी र कतै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन बढी सक्रिय गराउने वायुसहित उत्तरपूर्व बङ्गालको खाडीमा ठूलो न्यूनचापीय क्षेत्र छ । जुन उत्तरपूर्व हुँदै उत्तरपश्चिम सर्दै गरेको अवस्थामा छ । त्यसको केही भाग उत्तरतिर सर्ने भएकाले बुधबारसम्म देशभर मनसुनी प्रभाव कायम हुने सम्भावना छ । दुई दिनपछि पश्चिम हुँदै घुमेर मध्य र पूर्वी भूभागमा सक्रिय हुनेछ ।

त्यस्तैगरी नेपालभन्दा अलिक पर भारतको मध्यप्रदेशमा न्यूनचापीय क्षेत्रको विकास भएको छ । अरब सागरबाट पनि जलवाष्पसहितको बादल न्यूनचापीय क्षेत्र नजिक आउँदै गरेको छ । यसले नेपालमा मनसुनी वायु चक्रझैँ दोहोरिने भएको हो ।

मनसुन सकिने मिति घर्किंदै गर्दा पश्चिमी वायुसमेत सक्रिय हुने भएकाले त्यसका लागि समेत अहिलेको मनसुनी वायुले भूमिका खेल्ने अनुमान गरिएको छ । पश्चिमी वायु उच्च भएसँगै पूर्वी वायुलाई त्यसले धकेल्दै लगेर आफ्नो प्रभाव जमाएपछि मनसुन सकिन्छ । त्यसपछि भने हिउँदे वर्षाको समय सुरु हुन्छ ।

प्रतिक्रिया