महाधिवेशनको मिति सर्दैन, क्रियाशील सदस्यतासम्बन्धी विवाद तत्काल समाधान हुन्छ : कांग्रेस

admin

काठमाडौं, ८ असोज : सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरबारमा रहेको पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आउँदो मंसिर ९-१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो ।

बैठकले केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको पनि जानकारी गराएको छ । बैठकले (भोलि) शनिबार असोज ९ गते शनिबार निर्धारित समयमै पार्टीको पालिकास्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गरेको छ ।

हिमाली जिल्लालगायत कतिपय जिल्लामा पालिकास्तरीय अधिवेशनको मिति सार्नुपर्ने अवस्था आएमा पार्टी जिल्ला कार्य समितिको भावनाअनुसार केन्द्रीय निर्वाचन समितिबाट अनुमति लिएर गर्न सक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यस्तै बैठकले बाँकी रहेका १३ जिल्लाको क्रियाशील सदस्यतासम्बन्धी विवाद तत्काल समाधान गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता शर्माका अनुसार पार्टीको महाधिवेशनका लागि आवश्यक सङ्गठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा महाधिवेशनको प्रचारका लागि आवश्यक निर्णय लिन छिट्टै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि कांग्रेसले गरेको छ ।

प्रतिक्रिया