महामारीको अवस्था नआएको भए अघिल्लो वर्ष गरेका प्रतिबद्धता पूरा हुन्थे :प्रधानमन्त्री ओली

तुलसी नेपाल

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको बताएका छन् । संविधान दिवसका अवसरमा शनिबार सैनिक मञ्चमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको बताएका हुन् ।

कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको बताए । विकासको गति केही सुस्त भएको बताउँदै ओलीले महामारीको अवस्था नआएको भए आफूले अघिल्लो वर्ष गरेका प्रतिबद्धतालाई पूरा गर्न सकिने समेत बताए ।

उनले कोरोना महामारीकै कारण केही राष्ट्रिय गौरवका आयोजनाहरु उद्घाटन हुन नसकेको पनि उल्लेख गरे । प्रधानमन्त्रीले भने, ‘भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हुने थियो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उर्जा उत्पादन शुरु भएको हुने थियो । मेलम्चीको पानी आउन थालेको हुने थियो ।

रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको हुने थियो ।धरहरा निर्माणको कार्य सकिने थियो । निजी आवास पुनर्निर्माणको काम पूर्ण रुपमै भइसकेको हुने थियो ।’ अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष रेमिट्यान्स भित्रिएको पनि उनले उल्लेख गरे ।

प्रतिक्रिया