माग पूरा नभए आज ४ बजे राजीनामा गर्ने माधव नेपाल पक्षको चेतावनी

admin

काठमाडौं, ३० बैशाख : नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल पक्षले आफ्ना माग पूरा गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार दिउँसो ४ बजेसम्मको अल्टिमेटम दिएको छ । स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ४ जना नेताको कारबाही फुकुवा गरे पनि पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने नेपाल पक्षीय नेताहरूको माग छ ।

कारबाही फुकुवाले मात्रै समस्या समाधान नहुने भएकाले नयाँ गठन गरिएका कमिटी र खोसिएका जिम्मेवारी पुरानै अवस्थामा रहने ग्यारेन्टीको माग गरिएको नेता भीम रावलले जानकारी दिए । माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकाले बैठकले कारबाही फिर्ताको निर्णय गरेको हो ।

यस्तै ओली र नेपालबीच भेटवार्ता हुने तयारी छ । उनीहरूको केहीबेरमै भेटवार्ता हुन लागेको प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका हुन् । भेट हुने ठाउँको बारेमा भने टुङ्गो नलागेको भट्टराईको भनाइ छ । माधव नेपाल पक्षले आफ्ना माग पूरा नभए बिहीबार नै ४ बजे राजीनामा दिने चेतावनी दिएको छ ।

प्रतिक्रिया