माघ १० गतेसम्म पढाइ बन्द, परीक्षा सञ्चालन

admin

काठमाडौं, २ माघ : त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएका छन् । कोरोना संक्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ ।

अन्य विश्वविद्यालयले पनि भौतिक उपस्थितिमा पढाइ बन्द गर्नेबारेमा छलफल गरिरहेका छन् । त्रिविको निर्णयसँगै मुलुकभरका अधिकांश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पढाइ बन्द भएको छ ।

त्रिविले उच्च शिक्षाको ७५ प्रतिशत भार ओगटेको छ । विद्यालय तहको पढाइ माघ १५ सम्मका लागि बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ । सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने यसअघि नै सरकारले निर्णय गरेको छ ।

कोरोना संक्रमितको संख्या पनि दैनिक बढिरहेको छ । त्रिविमा पढाइ बन्द हुने भए पनि यसअघि नै तय गरिएका र हाल सञ्चालनमा रहेका परीक्षालाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय त्रिवि कार्यकारी परिषद्ले गरेको छ ।

त्रिविले अहिले स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन गरिरहेको छ । तेस्रो वर्षको परीक्षा माघ अन्तिम साताबाट सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी छ ।

प्रतिक्रिया