माधव नेपाल खरानी घसेर हिँड्नुभयो, देउवाले प्रचण्डलाई बेहाल बनाए : ओली

admin

काठमाडौं, ३१ भदौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिग्रेका तत्वहरु पार्टीबाट बाहिरिएको बताएका छन् । बिहीबार एमाले काठमाडौं जिल्ला कमिटीका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै सडेका र बिग्रेका तत्वहरु बाहिरिएको बताएका हुन् । ‘सडेका, बिग्रेका तत्वहरु पार्टीबाट गए’, अध्यक्ष ओलीको टिप्पणी छ ।

उनले एमाले सिध्याउन खोजेपनि कार्यकर्ताले बचाएको दावी गरे । ‘एमालेलाई सिध्याउन खोजिएको थियो, तर एमालेको सचेत पंक्ति जुरुक्कै उठेर रक्षाका निम्ति उभिएकाले पार्टी जस्ताको तस्तै छ’, ओलीले सम्बोधनको सुरुमै भने, ‘एमालेको भूमिका मात्रै परिवर्तन भयो । हामी सरकारमा थियौँ, प्रतिपक्षमा गयौँ ।’ अध्यक्ष ओलीले माओवादी केन्द्र एमालेमै रहेको भन्दै नाममात्रै रहेको प्रचण्ड गुट बाहिरिएको बताए ।

उनले अष्टलक्ष्मी शाक्यलाई जवाफ दिँदै ‘केही साथीहरुले माधव नेपाललाई आउनुस् भन्नुहुन्छ, किन आउने ? माधव नेपाल के फुटाउनलाई आवश्यक छ ?’, ओलीले भने । उनले लामो समय सँगै काम गरेकाले केही लोभ लागेको भएपनि लोभ छोड्न आग्रह गरे । अष्टलक्ष्मी शाक्यले सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपाललाई एमाले पार्टीमा फर्कन आग्रह गरेकी थिइन् ।

सोही क्रममा अध्यक्ष ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरेका छन् । ‘माधव नेपालले अल्मल्याएका र भ्रममा परेका कार्यकर्ता फर्किनुस्’ ओलीले भने, ‘माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिपन्ताम् भनेर तीर्थ यात्रामा हिँडेका हुन् उनलाई म केही भन्दिन ।’ उनले माधव नेपालले व्यक्तिगत, अहंकार, इर्ष्याबाट ग्रसित भएर दुनियाँको जिन्दगीसँग खेलवाड गरिरहेको आरोप पनि लगाए ।

‘उहाँ पार्टी प्रमुख भइसक्नुभयो, प्रधानमन्त्री भइसक्नुभयो, अब जाने ठाउँ छैन’ ओलीको भनाई छ । त्यस्तै ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पछि लाग्नेहरूलाई प्रचण्डको घरेलु कार्यकर्ता नहुन आग्रह गरे । ‘प्रचण्डको घरेलु कार्यकर्ता र उनको सेवा गर्न होइन । गाईलाई घाँस हाले दुध दिन्छ, प्रचण्डलाई जति सेवा गरेपनि के दिन्छन् ?’ ओलीको प्रश्न छ ।

उनले प्रचण्डले यता पनि दिन्छु उता पनि दिन्छु भन्ने गरेपनि अहिलेसम्म २ वटा मन्त्रीभन्दा दिन नसकेको टिप्पणी गरे । यस्तै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको पछि लाग्दा प्रचण्डको बेहाल भएको टिप्पणी समेत गरेका छन् । ओली आफूले विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आठ दश वटा मन्त्री दिएको तर अहिले शेरबहादुर देउवाको पछि लाग्दा बेहाल भएको बताए ।

‘प्रचण्डलाई मैले त कमसेकम आठ दशवटा मन्त्री त दिएको थिए नि । अहिले शेरबहादुरका पछि धेरै खान गएका हेर्नुस् त बेहाल !’ उनले खान पाइन्छ कि भनेर एमालेबाटै पनि किन दुई चार जना कुदेको भन्दै प्रश्न गरे । माधव नेपालसँग दुईचार जना गएपनि नयाँ मानिस धैरै पार्टीमा आइसकेको ओलीले दावी गरे । उनले एमाले थोरै चोइटिए पनि सम्मृद्ध नेपाल सुखी नेपालीको सपना जिउँदै रहेको बताए ।

यसैगरी अध्यक्ष ओलीले पाँच लाखलाई १० हजार एकपटक बाँडेर गरिबी बढ्छ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । सरकारले प्रतिस्थापन विधेयकमार्फत असोजमा गरिबलाई १० हजारका दरले रकम दिन गरेको निर्णयलाई ओलीले कुनै मापदण्ड बिनै आफ्ना कार्यकर्तालाई सो रकम बाँड्न लागेको बताए । उनले घण्टाघर यो सरकारले बनाउन नसक्ने भन्दै बनाउन नसक्नेलाई नभत्काउन सुझाव दिए ।

उनले देउवा सरकारलाई प्रश्न गर्दै भने- ‘को को गरिब ? जो जान्छ त्यही गरिब, कुनै मापदण्ड छ ? केही छ ? पाँच लाखलाई दश हजार बाँडेर गरिबी हट्छ ?, रोजगारी सिर्जना हुन्छ ? कृषि आधुनिकरण गर्ने केही छैन कस्तो मन पोलेको होला धरहरा बनाएको देखेपछि घण्टाघर भत्काउने रे !’ उनले चुनावमा सत्तापक्ष हुक्वाँ गर्दै जाने तर चुनावपछि स्वाँ गरेर फर्कने बताए । उनले एमाले चुनावपछि नौमति बाजा बजाएर मुल गेटबाट सिंहदरबार पस्ने दावी समेत गरे ।

प्रतिक्रिया