मानविकी पढेर चिकित्साको ‘अफर लेटर’, कान समाएर उठबस

admin

काठमाडौं, साउन १० : मानविकी विषय लिएर कक्षा १२ पूरा गरेकाहरू विदेशमा चिकित्साशास्त्रमा उच्च शिक्षा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिएर पुग्ने गरेका छन्। विदेशी विश्वविद्यालयले अर्थोपार्जनका लागि जथाभावी रूपमा ‘अफर लेटर’ पठाइदिने गरेका छन्। मानविकी विषय लिएकालाई चिकित्साशास्त्रको मात्र होइन, जीवविज्ञान पढेकालाई भौतिकशास्त्र अध्ययनका लागि पनि ‘अफर लेटर’ पठाइदिने गरेको पनि पाइएको छ।

एउटा विषय लिएर विद्यालय तह पूरा गरेकाहरू उच्च शिक्षा अर्को विषय अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा ‘नो अब्जेक्सन लेटर’ लिन जाने प्रशस्तै भेटिन्छन्। यस्तो कार्यमा विद्यार्थीलाई उक्साउने काम यहाँका शैक्षिक परामर्शदाताहरूले गर्दै आएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले विद्यार्थीले कुन विषय अध्ययन गर्न सक्छन्, कुन गर्न सक्दैनन् भन्ने विदेशी विश्वविद्यालयले हेक्का राख्दैनन् भने।

उनका अनुसार विदेशी विश्वविद्यालयलाई विद्यार्थी चाहिएको हुन्छ, त्यसैले जसलाई पनि जुनसुकै विषय अध्ययन गर्न पाउने गरी ‘अफर लेटर’ पठाइदिने गर्छन्। ‘नो अब्जेक्सन लेटर’ लिन पुगेका त्यस्ता विद्यार्थीलाई शाखाका कर्मचारीहरूले ‘नो’ भनेर फर्काइदिने गरेका छन्। विद्यार्थीलाई जसरी भए पनि विदेश जानु छ र उता गइसकेपछि अध्ययनभन्दा पनि रोजगारी उनीहरूका लागि मुख्य ध्यान हुने हुँदा ‘नो अब्जेक्सन लेटर’ लिनु परेको हो।

कान समाएर उठबस
जनस्वास्थ्य विषयमा स्नातकोत्तर अध्ययनका लागि विदेश जान चाहना राखेका एक जना पशु चिकित्सकलाई वैदेशिक अध्ययन अनुमति शाखाका पदाधिकारीले कान समाएर उठबस गराएर पठाइदिएका छन्।

शाखाका उपसचिव महेश्वर शर्माले जनस्वास्थ्य अध्ययन गर्न एक जना पशु चिकित्सकले विदेशी विश्वविद्यालयबाट ‘अफर लेटर’ ल्याएको बताउँदै भने, “एमपीएच अध्ययनका लागि विदेश जान नो अब्जेक्सन लेटर चाहियो भन्दै आएका थिए। उनलाई नेपाल जनस्वास्थ्य परिष्दबाट पत्र ल्याउन भन्यौँ। उनले ल्याए। त्यो नक्कली हो भन्ने पत्ता लगायौँ। त्यो नक्कली भएको भन्दा उनले आफूले पैसा तिरेर पुतलीसडकबाट बनाएर ल्याएको स्वीकारे।

हामीले कान समाएर आइन्दा यस्तो गर्नेछैन भनेर उठबस गर्न लगायौँ।‘ उनले ‘नो अब्जेक्सन लेटर’ लिन आउनेहरू कतिपयको नक्कली प्रमाणपत्र हुनसक्ने बताउँदै आफूहरूले थाहा नपाईकनै कतै नक्कली प्रमाणपत्रका आधारमा ‘नो अब्जेक्सन लेटर’ उपलब्ध गराएका त छैनौँ भन्ने डरले निकै चिन्तित बनाइरहने बताए।

प्रतिक्रिया