मौसम खुल्दै गएका ठाउँमा आन्तरिक उडान सुरु, सिमरा भोजपुर र भैरहवामा स्थगित

admin

काठमाडौं, २ माघ : मौसम खुल्दै गएका ठाउँमा उडान सुरु हुन थालेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण बिहान देशभरका आन्तरिक उडान ठप्प भएको थियो । बाक्लो हुस्सु र कुहिरो हटेपछि भद्रपुर, धनगढी र लुक्लाका लागि उडान भएको छ । सुर्खेतमा उडानको तयारी भइरहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

पोखरा, दाङ, विराटनगर, नेपालगन्ज, भरतपुर, जनकपुरमा भने उडानमा ढिलाइ भइरहेको छ । उडानमा ढिलाइ भएपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनमा यात्रुको भीड बढेको छ । यस्तै, खराब मौसमका कारण केही उडान भने स्थगित भएका छन् ।

बुद्ध एयरको सिमरा, नेपाल एयरलाइन्सको भोजपुर र सौर्य एयरको भैरहवाको उडान स्थगित भएका छन् । बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत आन्तरिकतर्फका सबै उडान प्रभावित भएका हुन् । मौसमविद्ले अहिले देशका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको बताएका छन् । अबको तीन दिनसम्मकै मौसम यस्तै रहने पूर्वानुमान गरिएको छ ।

काठमाडौंको तापक्रम ५.५ डिग्री सेल्सियस
देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । अझै दुईरतीन दिनसम्म मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । त्यसपछि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । हावामा पानीको मात्रासहितको दक्षिण पूर्वी अरब सागरबाट मौसमी प्रणाली नेपाल भित्रिएकाले तीन दिनसम्म नै मौसम बद्ली हुने मौसमविद्को भनाइ छ ।

मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने खासै नरहेको मौसमविद्ले बताए । अहिले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । मौसम बद्ली भएकाले बिहीबार बुधबारको भन्दा शुक्रबार चिसो बढ्ने मौसमविद् विभूति पोखरेलको भनाइ छ ।

बिहीबार न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तापक्रम आज घटेर ५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । बिहीबार अधिकतम १८ दशमलव २ डिग्री रहेको उपत्यकाको तापक्रम शुक्रबार १६-१८ सम्म पुग्ने अनुमान गरिएको छ । शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशका एकरदुई ठाउँमा हल्का हिमपात हुने र प्रदेश नं १ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया