म्यानमारमा सेना विरुद्ध फेरि सडकमा निस्किए प्रदर्शनकारी

admin

एजेन्सी, २० फागुन : म्यानमारमा गएको बुधबार एकैदिन ३८ प्रदर्शनकारीको ज्यान गएको भोलिपल्ट बिहीबार पनि निकै ठूलो संख्या प्रदर्शनकारी सडकमा निस्किएका छन् । म्यानमारको सबैभन्दा ठूलो सहर याङ्गोनमा प्रदर्शनकारीहरुले सडकमा टायर, तारबारको ब्यारिकेड्स बनाएका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर गर्न अशृग्यास र गोली चलाएको बीबीसीले जनाएको छ ।

यद्यपि अहिलेसम्म कसैलाई पनि क्षति नपुगेको बताइएको छ । प्रत्यक्षदर्शीहरूले याङ्गोनका साथै केन्द्रीय सहर मोन्यावामा पनि प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको बताएका छन् । साथै सञ्चारमाध्यममा आइरहेको खबर अनुसार याङ्गोनको पश्चिमतर्फ पर्ने पाथेन सहरमा पनि प्रहरीले गोली चलाएको छ ।

सामाजिक कार्यकर्ता माउङ्ग शाउङ्गकाले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन्, ‘हामीलाई गोली लाग्न सक्थ्यो र हामी मर्न सक्थ्यौ भने हामीलाई थाहा थियो । तर यसको अर्थ हामी सैन्य शासन स्वीकार गर्छौँ भन्ने होइन ।’

बुधबार म्यानमारमा भएको विरोध प्रदर्शनमा कम्तीमा ३८ प्रदर्शनकारीको ज्यान गएको थियो र त्यो घटनालाई लिएर संयुक्त राष्ट्र सङ्घले ‘रक्तपातपूर्ण दिन’ भएको थियो । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा म्यानमारको सम्बन्धमा शुक्रबार चर्चा हुने बताइएको छ । म्यानमारमा गएको फेब्रुअरी १ मा सैन्य कू पछि त्यसको विरोधमा प्रदर्शन भइरहेको छ ।

चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले नेतृ आङ सान सुकीसहितका शीर्ष नेताहरूलाई हिरासतमा लिएर सैन्य शासन लागू गरेको छ । म्यानमारमा एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको छ ।

नेतृ सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै पनि विरोध प्रदर्शन भइरहेको छ । सेनाको कदम र प्रदर्शनमा भइरहेको दमनलाई अमेरिका र युरोपेली युनियनसहित विभिन्न देशले आलोचना गरेका छन् ।

प्रतिक्रिया