म्यान्मारका ‘स्टेट काउन्सिलर’ सुकी नेपालमा

शर्मिला गुरुङ

याङ्गुन, १३ मङ्सिर (रासस÷सिन्ह्वा) : म्यानमारका ‘स्टेट काउन्सिलर’ तथा विदेशमन्त्री आङ् सान सुकी बिहीबार नेपाल पुग्नुभएको छ । नेपालको राजधानी काठमाण्डौँमा बिहीबारदेखि हुन गइरहेको एशिया प्यासिफिक सम्मेलन २०१८ मा भाग लिन उहाँ काठमाण्डौंतर्फ लाग्नु भएको म्यान्मारको विदेश मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

नेपालका प्रधानमन्त्री के पी शर्मा ओलीको निमन्त्रणामा उहाँ नेपालको भ्रमणमा जानु भएको सो मन्त्रालयले जानकारी दिएको छ । सुकी सन् २०१४ को जुनमा म्यान्मारको राज्य सल्लाहाकार र विदेशमन्त्री भएयता नेपालको यो पहिलो भ्रमण हो ।

यसअघि उहाँले विपक्षी नेताको हैसियतले काठमाण्डौको भ्रमण गर्नु भएको थियो । सुकीको तीन दिने नेपाल भ्रमणको क्रममा उहाँले नेपालका उच्चस्तरीय नेताहरुसँग भेटघाट गरी दुई देशको आपसी हितको बिषयमा कुराकानी गर्नुहुने कार्यक्रम रहेको छ ।

राजधानी काठमाण्डौँमा नोभेम्बर ३० देखि डिसेम्बर ३ सम्म सञ्चालन हुने एशिया प्रशान्त महासागरीय सम्मेलन २०१८ मा सुकीले स्वतन्त्रता, आपसी समृद्धि, विश्वव्यापी चुनौतीका विषयमा सम्बोधन गर्नु हुने जनाइएको छ ।
नेपालमा हुन गइरहेको यस सम्मेलनमा विभिन्न देशका राज्य र सरकार प्रमुख, सांसद, प्रतिष्ठित नेताहरु, व्यापारी तथा नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहने बताइएको छ ।

प्रतिक्रिया