यार्सागुम्बाबाट २६ प्रतिशत बढी राजश्व

शर्मिला गुरुङ

काठमाडौँ, १४ जेठ : शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाले २६ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । अघिल्लो भन्दा यो वर्ष यार्सागुम्बा सङ्कलनकर्ताबाट राजश्व बढी उठेको हो ।
जिल्लास्थित सरोकारवाला निकायसहितको सर्वपक्षीय निर्णयअनुसार जेठ १३ देखि भोक्पा, भाङ्का, कुनास, सागबारीलगायत ७० भन्दा धेरै यार्सापाटनहरू औपचारिक रूपमा खुलिसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी छत्र खड्काले जानकारी दिनुभयो ।

निकुञ्ज क्षेत्रभित्र पर्ने धो मा रहेका विभिन्न यार्सागुम्बा पाटनमा हिँउ धेरै जमेकाले स्थानीय र यार्सा सङ्कलकसँग सल्लाह गरेर मङ्गलबार मात्रै पाटन खुलाइने निर्णय गरिएको छ । निकुञ्ज क्षेत्रभित्रका यार्सापाटन औपचारिक रूपमा खुलेसँगै सर्वसाधारण मानिसहरु जोखीम मोलेर बहुमूल्य जडीबुटी यार्सागुम्बाको खोजीमा जुटेका छन् ।

यार्सागुम्बाको खोजीका लागि पुगेका हजारौँ सर्वसाधारण हिँउले सेताम्य पाटनमा हिँउ बिलाएको ठाउँमा यार्सा खोज्न थालेका हुन् । पाटन खुलेको पहिलो दिनमा जतिसक्दो धेरै यार्सागुम्बा टिप्ने अठोटका साथ एकले अर्कालाइ उछिन्दै अगाडि बढिरहेको देखीने रुकुम आठबीसकोट नगरपालिका राडीकी भगवती शाहीले बताउनुभयो ।

निकुञ्ज क्षेत्रभित्र पर्ने अधिकांश यार्सापाटन खुले पनि सामुदायिक वन क्षेत्रभित्रका केही पाटन खुल्न सकेका छैनन् । यार्सापाटन खुलाउन आन्तरिक व्यवस्थापनमा समय लाग्ने भन्दै केही दिनभित्रै पाटन खुलाइने सामुदायिक वनहरुले जानकारी दिएका छन् । अहिलेसम्म रु एक करोड ९१ लाखभन्दा बढी यार्सा सङ्कलनकर्ताबाट रकम उठेको निकुञ्जका छत्र खड्काले जानकारी दिनुभयो। अघिल्लो वर्षको भन्दा यो वर्ष २६ प्रतिशत राजश्व बढी उठेको उहाँले बताउनुभयो।

एक करोड ९१ लाख रकम अघिल्लो वर्ष उठेको थियो । जाजरकोट, रुकुम, जुम्लाका स्थानीयवासी बढी यार्सागुम्बा सङ्कलनका लागि आएको छन् । अहिलेसम्म आठ हजार बढी यार्सा सङ्कलनकर्ता पाटनमा पुगेको खड्काले जानकारी दिनुभयो । सङकलनकर्ता बढ्न सक्ने बताइएको छ ।

निकुञ्जले शुक्रबारबाट प्रवेश शुल्क मार्फत मध्यवर्ती क्षेत्र भित्रका सर्वसाधारणका लागि रु ५००, मध्यवर्ती क्षेत्रबाहेक जिल्ला भित्रका सर्वसाधारणका लागि रु दुई हजार र जिल्लाबाहिरका सर्वसाधारणका लागि रु तीन हजार दस्तुर तोकेको छ । त्यसबाहेक मध्यवर्ती क्षेत्रहरूले सेवा शुल्कको रुपमा छुट्टै रु ५०० लिन पाउने व्यवस्था गरिएको छ ।

निकुञ्जले छोडपुर्जी दस्तुरवाफत रु ३० हजार तोकेकोे छ । पुर्जीको म्याद जेठ १० गतेदेखि असार १० गतेसम्मको एक महीनाको अवधि रहने निकुञ्जले जनाएको छ । निकुञ्ज भित्रका १५ नाकाबाट प्रवेश गर्नेलाई प्रवेश पुर्जी काटिएको छ । सो क्षेत्रमा पर्ने सुलिगाड, सुम्दुवा, छेप्का, पलम, रिग्मो, साल्दाङ्, धो, त्रिपुराकोट, खालीवन, नाउली, तोइजुम लगायतका १४ वटा स्थानबाट सङ्कलन पुर्जी वितरण भइरहेको छ ।

प्रतिक्रिया