राम मन्दिर बनाउन प्रधानमन्त्री ओलीद्वारा निर्देशन, कांग्रेसले उठायो यस्ता चार प्रश्न

admin

काठमाडौं, २५ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम सुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार चितवनको माडी नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम सुरु गरिहाल्न आग्रह गरेको माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए ।

उनकाअनुसार प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आउँदो रामनवमी भव्यताका साथ मनाउने बताएका थिए ।

ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायत काममा सरकारका तर्फबाट पनि सहयोग उपलब्ध हुने बताएको उपप्रमुख महतोले उल्लेख गरे ।

माडीमा सहज यातायातका लागि समेत असुविधा भएको जनाउँदै स्थानीय जनप्रतिनिधिले वैकल्पिक उपाय अपनाएर भए पनि सडक निर्माण गर्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारले सहजीकरण गरिदिनुपर्ने माग प्रधानमन्त्रीसमक्ष राखेका थिए ।

स्थानीय जनप्रतिनिधिको मागलाई सकारात्मक रुपमा लिँदै प्रधानमन्त्रीले आवश्यक निर्णय गरिने विश्वाससमेत दिलाएको उपप्रमुख महतोले जानकारी दिए ।

केही दिन पहिले चेपाङ समुदायको घर राष्ट्रिय निकुञ्जले जलाइदिएको जनाउँदै उनीहरुको उचित बसोबासको व्यवस्था गरिदिन जनप्रतिनिधिले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

त्यस आग्रहलाई सकारात्मक रुपमा लिँदै प्रधानमन्त्रीले वन तथा वातावरण मन्त्रालय र निकुञ्ज कार्यालयलाई आवश्यक निर्देशन दिइने बताएका थिए ।

राम मन्दिर बनाउन प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि कांग्रेसले उठायो ४ प्रश्न
प्रधानमन्त्री केपी ओलीले चितवन माडीको अयोध्यापुरीमा राम मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्न उठाएको छ ।

माडी नगरपालिकाका जनप्रतिनिधिलाई बालुवाटार बेलाएर यस्तो निर्देशन दिएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने भन्दै प्रश्न गरेका छन् ।

शर्माले आफ्नो ट्विटमा ‘भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने ? द्वन्द्वात्मक भौतिकवादको यो कस्तो आध्यात्मिक अवतार ?

कम्युनिस्ट प्रधानमन्त्री ओलीमाथि उनले कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला भन्दै झटारो समेत हानेका छन् । ‘यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान् राम कि घर जलेका भक्तले क्षमा देलान् ?,

शर्माको प्रश्न छ, कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि मिशन लिम्पियाधुरालाई बल पुग्ला ?

प्रधानमन्त्री ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै रहेको दाबी गर्दै मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने समेत बताएका थिए ।

प्रतिक्रिया