ललितपुर मेयर कप : महिला क्रिकेटमा एपीएफ र ललितपुर विजयी

admin

ललितपुर, २२ चैत्र : ललितपुर मेयर कप महिला टी-२० क्रिकेटमा आइतबार सशस्त्र प्रहरीको एपीएफ क्लब र ललितपुर मेयर्स-११ विजयी भएका छन् । आइतबारको पहिलो खेलमा एपीएफले सुदूरपश्चिमलाई ३७ रनले हरायो । त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ ओभरमा अलआउट हुँदै ९० रन मात्रै बनाउन सक्यो ।

यसअघि पहिले ब्याटिङ गरेको एपीएफले ज्योति पाण्डेको ५९ रनको मद्दतमा एक सय २७ रन बनाएको थियो । यो जितसँगै एपीएफ चार अङ्कका साथ शीर्ष स्थानमा छ । यस्तै दोस्रो खेलमा ललितपुर मेयर्स-११ ले लुम्बिनी प्रदेशलाई २७ रनले हराएको छ । ललितपुरले दिएको एक सय ४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पाँच विकेट गुमाएर एक सय १७ रन मात्रै बनाउन सक्यो ।

लुम्बिनीका लागि सरस्वती जीएमले सर्वाधिक ४६ रन बनाइन् । यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४४ रन बनायो । ललितपुरका लागि सुमन खतिवडाले अविजित ७७ रन बनाइन् । ललितपुर मेयर कप प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया